साउन १४, काठमाडौँ । बौद्धनाथ क्षेत्र विकास समितिमा अध्यक्ष नियुक्ति गर्न नसक्दा तीन महिनादेखि नेतृत्वविहिन भएको छ । संस्कृति तथा पर्यटन नागरिक उड्डयान मन्त्रालय मातहत रहने त्यस बौद्धनाथ क्षेत्र विकास समितिमा पदाधिकारी नियुक्ति गर्न मन्त्री परिषदबाट सिफारिस भएपनि राजनीतिक स्वार्थका कारण नियुक्तिले पूर्णता पाउन सकेको छैन् ।
गत असार १७ र १८ गते मन्त्रीस्तरीय निर्णयबाट पाँच निकायमा पदाधिकारी मनोनयन गरिएपनि बौद्धनाथ क्षेत्र विकास समितिमा भने पूर्णता पाउन सकिएको छैन् । मनोनित भएका पदाधिकारीहरूलाई असार २२ गते नियुक्ति पत्र बुझ्न मन्त्रालयले सूचना जारी गरिएको थियो । उक्त सूचनानुसार मनोनित भएका पशुपति क्षेत्र विकास कोष, नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, बौद्धनाथ क्षेत्र विकास समिति, पाटन दरबार संग्रहालय विकास समिति, हनुमानढोका दरबार संग्रहालय विकास समितिका पदाधिकारीहरूलाई नियुक्तिपत्र प्रदान गरेको छ ।
विभिन्न विकास समिति तथा संस्थाका पदाधिकारी मनोनयनले कानुनी शासनमाथि प्रश्न उठेको छ । सरकारले बनाएको गठन आदेश र कानुनी व्यवस्थाले नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मनोनयन हुने स्पष्ट व्यवस्था गरेका संस्थाहरूमा मन्त्रीले आफ्नै निर्णयबाट पदाधिकारी नियुक्त गरेको तथ्य सार्वजनिक भएको हो । बौद्धनाथ क्षेत्र विकास समितिको पदाधिकारीको हकमा अध्यक्षबाहेक पाँच जना सदस्यहरूले नियुक्तिपत्र पाइसकेका छन् । मन्त्रीस्तरीय निर्णयबाट अध्यक्षमा मनोनयन भएका सम्पूर्ण कुमार लामालाई भने नियुक्ति पत्र नदिदा स्थानीयस्तरबाटै प्रश्न गर्न थालिएको छ । यसअघि दुइ कार्यकाल अध्यक्षको नेतृत्व गरिसकेका लामालाई पुनः बालेन सरकारले नियुक्ति गरिएपनि पार्टीभित्रको आन्तरिक विवादका कारण नियुक्ति रोकिएको बुझ्न आएको छ ।
नियुक्तिको विषयमा काठमाडौँ क्षेत्र नं. ३ मा रास्वपाबाट निर्वाचित सांसद राजुनाथ पाण्डेले आफ्नो स्वार्थ अनुकुलको मान्छे नपरेको भन्दै असन्तुष्ट जनाउँदै लामाको नियुक्तिलाई रोकिएको बुझ्न आएको छ । तर स्थानीय स्तरमा भने रास्वपाकै साथ र सर्मथनसहित अध्यक्षमा सम्पूर्णकुमार लामासहित अन्य पाँच सदस्यहरूलाई सिफारिस गरिएको बताइएको छ । दुइ कार्यकाल समितिको अध्यक्ष भइसकेको सम्पूर्ण कुमार लामालाई अनुभवका आधारमा स्थानीय संघसंस्था, जनप्रतिनिधिहरूको समेत सिफारिस भएर मन्त्रीस्तरीय बैठकबाट नियुक्ति गरिएको भएपनि केही स्वार्थ समूहले उक्त नियुक्तिलाई बन्धक बनाउनु खोजिएको स्थानीयको आरोप छ । बौद्धनाथ क्षेत्र विकास समितिमा नेतृत्व नहुँदा प्रशासनिक कार्य समेत अवरोध भएको भन्दै कर्मचारी तथा स्थानीयहरू आक्रोशित छन् ।
बौद्ध क्षेत्रमा हुने सामाजिक, धार्मिक, साँस्कृतिक तथा विकास कार्यमा समन्वयकारी भूमिका निभाउने क्षेत्र विकास समितिलाई अनिर्णयको बन्दी बनाउन खोजिएको स्थानीयहरूको आरोप छ । क्षेत्र विकास समितिले बौद्धका रहेका विभिन्न संघसंस्थाहरूलाई समन्वयकारी भूमिका खेल्दै अभिभावकत्व ग्रहण गर्दै आइरहेको छ ।
त्यस्तै कार्यकारी निर्देशक पदमा पनि रिक्त राखेका छन् । सरकारले नियुक्त गर्नुपर्ने सांर्वजनिक निकायहरूमा दलगत र व्यक्तिगत स्वार्थको निर्णय पर्खिदा सुशासनमाथी गम्भीर प्रश्न सिर्जना भएको छ । विश्व सम्पदा सूचिकृत बौद्ध परिसरको शान्ति सुरक्षा व्यवस्थापन तथा पर्यटकलाई सहायता गर्नुपर्ने निकायमा नेतृत्वविहिन गराउदा थप समस्य उत्पन्न हुनेमा स्थानीय समुदाय चिन्तित छन् ।
सम्पूर्ण कुमार लामालाई अध्यक्षमा नियुक्त गरेको महिनौ हुना लाग्दा पत्र अल्झाएर राखेको विषय झन गम्भीर बन्दै गएको छ । शून्य भ्रष्टाचार र सुशासनको लक्ष्य बोकेको सरकार दिनप्रतिदिन खस्किदै गएको अनुमान लगाउन अन्त प्रमाण खोज्नुनपर्ने जानकारहरू बताउँछन् । नियुक्ति गर्दै विवाद सिर्जना गर्नुमा संस्थागतभन्दा व्यक्तिगत स्वार्थ व्याप्त रहेको तर्क छ । सार्वजनिक निकायको नियुक्तिमा पार्टीकै सिफारिस चाहिने यस अघिका सरकारको परिपाटी जस्तै रास्वपा सरकारमा पनि त्यही देखिएको छ । मन्त्रालयले आह्वान गरिको आवेदनका आधारमा नियुक्ति भइसकेको व्यक्तिलाइ बदरको लागि स्थानीय सांसद स्वयम लागेको कुरा बाहिर आएपछि संस्कृति पर्यटन मन्त्री खडक राज पौडेल र साँसद राजु पाण्डेबीच मतभेद उत्पन्न भएको छ ।
मन्त्री पौडेल र साँसद पाण्डेको खिचातनीका कारण बौद्धनाथ क्षेत्र विकास समितिमा नेतृत्वविहिन बन्न पुगेको स्थानीयहरू आरोप छ । समितिलाई तत्काल पूर्णता दिन समेत आवाज उठिरहेका छन् । विभिन्न समयमा क्षेत्र विकास समितिको समन्वयमा मनाउँदै आएको स्थानीय चाडपर्व तथा धार्मिक कार्यक्रमहरूमा समेत बाधा पुगेको भन्दै सम्बन्धित निकाय गम्भीर हुनुपर्ने सरोकारवाला बताउँछन् । सरकारले गरिने नियुक्तिहरूमा स्वार्थ समूह र राजनीतिकरण गर्न नहुने बताउँदै निष्पक्ष र स्वस्थ्य प्रतिस्पर्धाले योग्यतानुसारको व्यक्तिहरू नियुक्ति गर्नुपर्ने सरोकारवालाको भनाई छ ।
बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्ष नियुक्तिमा विवाद, मन्त्रीमाथी उठ्यो गम्भीर प्रश्न


