रास्वपा सभापति लामिछाने तीन दिने भारतकाे धार्मिक भ्रमणमा

कञ्चनपुर, ६ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि शुक्रबार भारत प्रस्थान गरेका छन्।पत्नी निकिता पौडेलसहित भारत भ्रमणमा निस्किएका लामिछाने पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारततर्फ लागेका हुन्।

शुक्रबार बिहान काठमाडौंबाट हवाईमार्ग मार्फत धनगढी पुगेका रास्वपा सभापति लामिछाने त्यहाँबाट सडकमार्ग हुँदै कञ्चनपुरको गड्डाचौकी नाका पुगेका थिए।  नाका हुँदै उनी भारततर्फ प्रस्थान गरेको उनको निजी सचिवालयले जनाएको छ।

लामिछानेको सचिवालयका अनुसार यो भ्रमण पूर्ण रूपमा निजी, पारिवारिक तथा आध्यात्मिक तीर्थयात्रा हो। तीन दिने यो भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको प्रख्यात ‘कैँची धाम’ (नीम करोली बाबाको आश्रम) र आसामको गुवाहाटीस्थित प्रसिद्ध शक्तिपीठ ‘कामाख्या मन्दिर’ मा परिवारसहित पुगी पूजाआजा तथा दर्शन गर्ने कार्यक्रम रहेको छ।

तीन दिने धार्मिक तथा पारिवारिक भ्रमण सम्पन्न गरी सभापति लामिछाने आगामी कात्तिक ९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.