चैत २२, काठमाडौँ । पर्यटनको राजधानी पोखरामा “२० औं फेवा नयाँ बर्ष महोत्सव २०८२’ मनाउने तयारी गरेको छ । आगामी चैत ३० गते देखि आगामी वैशाख १ गतेसम्म फेवा किनारको करिव ३कि.मी क्षेत्र लेकसाइड सडकमा उक्त महोत्सव संचालन हुने आयोजकले जनाएको छ ।
नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खाना तथा आन्तरिक एवं वाह्य पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्य सहित आयोजना हुने सो महोत्सवमा निःशुल्क प्रवेश गराउने बताएको छ । नेपाली नयाँ वर्षलाई उल्लासमय रुपमा मनाउने र राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्रायले सांस्कृतिक झाँकीसहित महोत्सवको आरम्भ हुने आयोजकले जनाएको छ ।
महोत्सवकै प्रचारप्रसारका लागि संघले नेपाल पर्यटन बोर्डको सहयोगमा पूर्वी नेपालका प्रमुख शहरहरुमा हालै “जाउँ है पोखरा” अभियान संचालन गरी त्यस क्षेत्रका वासिन्दालाई फेवा महोत्सवमा सहभागीताका लागि आमन्त्रण गरेको छ । संघले घुमघाम पोखरा, शैक्षिक भ्रमण पोखरा र मधुमास पोखरा जस्ता प्याकेज पनि पर्यटकका लागि घोषणा गरेको छ । सन् २०२५ लाई पोखरा महानगरपालिकाद्धारा पोखरा भ्रमण वर्ष घोषणा गरीए पश्चात आयोजना गर्न लागिएको यस वृहत महोत्सवले भ्रमणवर्षको लक्ष्यलाई पुरा गर्न सघाउ पुऱ्याउनेछ । महोत्सवलाई सफतापुर्वक सम्पन्न गर्न २१ भन्दा बढी समिति गठन गरी एरिया संयोजकहरु समेत तोकिएको छ ।
प्रदेश स्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, पर्यटक दौड प्रतियोगिता, व्याडमिन्टन कप, स्थानिय एवम् प्रख्यात कलाकारद्धारा प्रत्यक्ष पप कन्सर्ट, कृषी एवम् हस्तकलाका सामानहरुको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्धारा लोक दोहोरी कार्यक्रम महोत्सवका आकर्षणहरु रहनेछन । महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रा।ली, सह प्रायोजक वरुण वेभरेज लि।को पेप्सी, प्रायोजकहरुमा बन्दीपुर केवलकार लि. फोन पे, अन्नपुर्ण केवलकार लि. टोकला चिया, रहेका छन् भने इन्सुरेन्स पार्टनरमा प्रभु इन्सुरेन्स कम्पनी र प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिका रहनेछन् । होटल संघ नेपाल, पोखरा पर्यटन परिषद, गण्डकी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय एवम् विभिन्न व्यावसायिक प्रतिष्ठानहरुले सहयोग गर्ने विश्वास गरिएको छ । नेपाली नयाँ वर्ष २०८२ लाई हर्ष उल्लासपूर्वक मनाउन सबैलाई आग्रह गरेका छन् ।

