भदौ २६, काठमाडौं । कुशे औँसीका अवसरमा काठमाडौंको गोकर्णेश्वरस्थित प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिरमा बिहानैदेखि भक्तजनको बाक्लो भीड लागेको छ। कुशे औँसी तथा बुवाको मुख हेर्ने दिनका रूपमा मनाइने यस पर्वमा देशका विभिन्न स्थानबाट आएका भक्तजनले मन्दिरमा पुगेर पूजा–आराधना तथा दर्शन गरेका छन्।

कुशे औँसी हिन्दु धर्मावलम्बीका लागि धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण दिन मानिन्छ। यस दिन जीवित बुवालाई सम्मान गर्ने, मीठा परिकार तथा उपहार दिएर आशीर्वाद लिने र दिवंगत पितृको सम्झना गर्ने परम्परा रहँदै आएको छ। यही परम्परालाई निरन्तरता दिँदै बिहानैदेखि गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको चहलपहल बढेको हो।

मन्दिरमा पुगेका भक्तजनहरूले भगवान् गोकर्णेश्वर महादेवको दर्शन तथा पूजा–आराधना गर्नुका साथै आफ्ना दिवंगत पितृहरूको सम्झनामा श्रद्धा व्यक्त गरेका छन्। कतिपयले धार्मिक विधिअनुसार पूजा, दीप प्रज्वलन तथा अन्य कर्म गर्दै पितृप्रति श्रद्धा अर्पण गरेका छन्।

गोकर्णेश्वर क्षेत्रलाई हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक तथा पितृश्राद्धस्थलका रूपमा लिइन्छ। विशेषगरी कुशे औँसीका दिन यहाँ पितृको सम्झनामा धार्मिक कर्म गर्ने र श्रद्धा व्यक्त गर्ने भक्तजनको ठूलो उपस्थिति रहने गरेको छ। पर्वका अवसरमा मन्दिर परिसर, नदी आसपास तथा प्रवेशद्वार क्षेत्रमा समेत बिहानैदेखि भक्तजनको आवतजावत बढेको देखिएको छ।

धार्मिक तथा सांस्कृतिक विविधताबीच मनाइने पर्वले गोकर्णेश्वर क्षेत्रको मौलिक पहिचानलाई थप उजागर गरेको स्थानीयको भनाइ छ। विभिन्न समुदायका मानिसहरू एउटै धार्मिक तथा सांस्कृतिक वातावरणमा सहभागी हुँदा आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकताको सन्देशसमेत प्रवाह हुने गरेको छ।
तस्वीरहरु : ईश्वर तामाङ


