भदौ १, काठमाडौं । ३२ औं तामाङ प्रसारण दिवसको अवसरमा आयोजीत तामाङ मिडिया अवार्ड २०८३ बाट दुई पत्रकार सम्मानित भएका छन् ।
तामाङ पत्रकार संघ संघीय समितिद्वरा काठमाडौंमा आयोजित अवार्ड वितरण कार्यक्रममा पत्रकारद्वय काभ्रेपलान्चोकका जगतमान बल तामाङ र मकवानपुरका जमुना तामाङ नगद पुरस्कार राशिसहित सम्मानित भएका हुन् ।

प्रतिनिधि सभा सदस्य परशुराम तामाङको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा तामाङ समुदायमा जन्मिएर पत्रकारिता क्षेत्रमा क्रियाशील रूपमा लागेर समुदायको भाषा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै तामाङ मिडिया अवार्ड २०८३ बाट सम्मानित गरिएको बताएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले भाषाविना पहिचान र अधिकारको अस्तित्व नरहेको बताउदै भाषाको संरक्षण र प्रवर्द्धनमा जोड दिनुपर्ने बताएका छन् । सामुदायिक भाषा बचाउन नसकिए पहिचान र राष्ट्रियताको अस्तित्व मेटिने बताउदै समुदाय र राज्य गम्भीर रूपमा लाग्नुपर्ने बताए ।

राष्ट्रको भाषाहरु बचाउन समुदाय र राज्यले अपनत्व लिनुपर्ने बताउदै नीति तथा योजनामै बजेट समावेस गर्नुपर्ने उल्लेख गरे। अवार्डबाट सम्मानित पत्रकार जगतमान बल तामाङले राज्यले सुनिश्चित गरेको अधिकारलाई कार्यन्वयनमा लानुपर्ने जोड दिए ।
पत्रकारिताको माध्यमबाट समुदायको आवाजलाई सरकार र सरोकारवालासामु पुर्याउन सबैलाई आग्रह गरे । कार्यक्रममा बोल्ने वक्ताहरूले सबै एक मत भएर बागमती प्रदेश सरकारले मान्यता दिएको तामाङ र नेपाल भाषालाई व्यवहारिक रूपमा कार्यन्वयन गराउन सक्रियता भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा फोनिज संघीय समितिका अध्यक्ष लक्की चौधरी, रोशी गाउँपालिका काभ्रेपलान्चोकका अध्यक्ष दिनेश लामा, नेपाल तामाङ घेदुङका अध्यक्ष रामकृष्ण ब्लोन, भाषाविद अमृत योन्जन, रेडियोकर्मी रमिता लामा लगायत पत्रकार तथा समाजसेवीहरुले शुभकामना मन्तव्य राखेका थिए ।
तामाङ पत्रकार संघका संघीय अध्यक्ष नेत्र तामाङको सभापतित्वमा भएको तामाङ मिडिया अवार्ड कार्यक्रममा रविन्द्र ग्याबाको संयोजकत्वमा गठित छनोट समितिबाट पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।

