साउन १४, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विगत केही दिनदेखि सुनसरीको कप्तानगञ्जलगायत तराईका विभिन्न जिल्लाहरूमा देखा परेको अशान्त वातावरण र उत्पन्न तनावप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यी घटनाक्रमले सर्वसाधारणमा त्रास फैलाएको र सामाजिक सद्भावमा खलल पुर्याएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
महासंघले ती घटनाहरूमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै, घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “तराई–मधेस क्षेत्र सदियौँदेखि विभिन्न जातजाति, भाषाभाषी र समुदायहरूबीचको आपसी भाइचारा र सामाजिक सद्भावको केन्द्र रहँदै आएको छ ।”
महासंघका अनुसार, कुनै पनि बहानामा हुने सामाजिक अशान्ति, झडप, हिंसा र मुठभेडले कसैको हित गर्दैन । यस्ता घटनाले सर्वसाधारणको दैनिक जीवनयापनलाई कष्टकर बनाउनुका साथै उद्योग, व्यापार र समग्र देशको आर्थिक गतिविधिमा समेत गम्भीर नकारात्मक असर पुर्याउने महासंघको ठहर छ ।
“सामाजिक सद्भाव र शान्ति नै मुलुकको समृद्धि र आर्थिक विकासको पूर्वसर्त हो,“ विज्ञप्तिमा उल्लेख छ । महासंघले जुनसुकै प्रकारका मतभेद वा असमझदारीको समाधान केवल शान्तिपूर्ण वार्ता, संवाद र आपसी समझदारी बाट मात्र सम्भव हुने विश्वास व्यक्त गरेको छ ।
महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले विज्ञप्तिमार्फत कप्तानगञ्जलगायत क्षेत्रहरूमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन स्थानीय प्रशासन र सरकारसँग माग गरेका छन् । कसैलाई पनि भ्रम, उत्तेजना र अफवाहको पछि नलागी संयमता अपनाउन र परापूर्वकालदेखि कायम रहेको आपसी भाइचारालाई अझ मजबुत बनाउन अपिल गरिएको छ ।


