रोशी खोलामा बाढीको जोखिम: बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि बन्द

असार २९, काठमाडौं। काभ्रेपलान्चोकको रोशी खोला जलाधार क्षेत्रमा सोमबार दिउँसोदेखि भइरहेको अविरल वर्षाका कारण बीपी राजमार्गमा सवारी साधनको आवागमन तत्कालका लागि रोकिएको (होल्ड गरिएको) छ।

सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले सुरक्षा सतर्कता स्वरूप यो कदम चालेको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले सोमबार दिउँसो एक विशेष सूचना जारी गर्दै रोशी खोला क्षेत्रमा लगातार पानी परिरहेकाले नदीमा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने र राजमार्गका विभिन्न खण्डमा जोखिम निम्तिन सक्ने अवस्थालाई ध्यानमा राखेर सवारी साधनहरूलाई सुरक्षित स्थानमा रोकिएको जनाएको छ।

गत वर्षको बाढीपहिरोले बीपी राजमार्गको रोशी खोला किनारका सडक खण्डहरूमा ठूलो क्षति पुर्‍याएकाले सामान्य वर्षामा पनि थप क्षति हुन नदिन र यात्रुको सुरक्षा सुनिश्चित गर्न प्रहरीले बेलैमा सतर्कता अपनाएको हो। प्रहरीका अनुसार हालसम्म सडक मार्गमा पहिरो वा लेदो खसेर ठूलो अवरोध भइसकेको अवस्था भने छैन। मौसममा सुधार आउनासाथ र रोशी खोलाको जलसतह सामान्य रहने सुनिश्चित भएपछि आवश्यक जाँचबुझ गरी चाँडै अर्को सूचनामार्फत बाटो सुचारु गरिने प्रहरीले स्पष्ट पारेको छ।

अहिले काठमाडौँबाट पूर्वी नेपाल र तराईतर्फ जान छुटेका तथा बिपी राजमार्ग हुँदै सङ्घीय राजधानी काठमाडौँतर्फ आउँदै गरेका सवारी साधनहरूलाई काभ्रेका सुरक्षित बजार क्षेत्र तथा आसपासका व्यवस्थित स्थानहरूमा होल्ड गरेर राखिएको छ। वर्षाको समयमा पहाडी तथा नदी किनारका राजमार्गहरूमा यात्रा गर्दा जुनसुकै बेला जोखिम निम्तिन सक्ने भएकाले यात्रामा निस्किनुअघि अनिवार्य रूपमा सडकको अवस्था बुझ्न जिल्ला प्रहरी कार्यालयले सबै यात्रु तथा चालकहरूलाई अनुरोध गरेको छ।

थप जानकारी र सडकको पछिल्लो वस्तुस्थितिबारे बुझ्नका लागि नेपाल प्रहरीको हटलाइन नम्बर १०० वा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.