गाईको सट्टा गैँडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

काठमाडौं । आदिवासी जनजाति आयोगले राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउने प्रस्ताव गरेको छ । संविधान संशोधनका लागि २५ बुँदे प्रस्ताव अगाडि सार्दै आयोगले गैँडालाई राष्ट्रिय जनावर बनाउने प्रस्ताव अघि सारेको हो ।

बिहीबार आयोगले ‘संविधान संशोधन प्रस्ताव प्रतिवेदन’ सार्वजनिक गरेको छ । जसमा राष्ट्रिय गान र राष्ट्रिय जनावरका सम्बन्धमा समेत सुझाव प्रस्तुत गरिएको छ । ‘प्रदेश अनुसार सरकारी कामकाजको लागि तोकिएको भाषामा राष्ट्रिय गान गाउने व्यवस्था गर्न सकिने’ आयोगको प्रस्ताव छ, ‘राष्ट्रिय जनावर गाईको सट्टा गैँडा हुनेछ ।’

‘गाई सबै धार्मिक (मुस्लिम) र साँस्कृतिक समुदाय (किँरात, राई लगायत) को साझा हुन नसक्ने भएकोले’ राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन उपयुक्त हुने आयोगको सुझाव रहेको छ ।

प्रधानमन्त्री तथा परिषद्को कार्यालयले आयोगसमक्ष सुझाव मागेको थियो । संविधान संशोधन सुझाव माग भएको पत्रबमोजिम आदिवासी जनजाति आयोगले संविधान संशोधन प्रस्तावित प्रतिवेदन तयार पारेको हो ।

यसअनुसार समानुपातिक समावेशीता, राज्यको पुर्नसंरचना र सङ्घीयता, आदिवासी जनजाति तथा सीमान्तकृत समुदायको संवैधानिक हक अधिकार कार्यन्वयनमा देखिएको अस्पष्टता केलाएर सुझाव दिइएको आयोगले जनाएको छ ।

आयोगले नेपालका आदिवासी जनजातिले बोल्ने भाषाको लिपिमा लेखिएका सबै भाषा सरकारी कामकाजको भाषा हुने भनेर पनि संविधानमा लेख्नुपर्ने प्रस्ताव गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.