नेपाल प्रहरी र सशस्त्रका आईजीपी अमेरिका प्रस्थान

असार २१, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) अमेरिका प्रस्थान गरेका छन् ।

नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायणदत्त पौडेल आज साँझ अमेरिका प्रस्थान गरेका हुन् । उनीहरू दोहा हुँदै अमेरिका पुग्ने प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले जानकारी दिए । संयुक्त राष्ट्र संघको आयोजनामा अमेरिकाको न्यूयोर्कमा हुने चिफ अफ पुलिस समिटमा सहभागी हुन दुवै प्रहरी प्रमुख अमेरिका प्रस्थान गरेका हुन् ।

समिट यही जुलाई ७ र ८ हुनेछ । आफू अमेरिका प्रस्थान गर्ने भएपछि आईजीपी कार्कीले हालै राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगन्जमा सरुवा भएका एआईजी राजन अधिकारीलाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिएका छन् ।

अधिकारी पहिलो वरीयताका एआईजी हुन् । प्रहरीमा सामान्यतः पहिलो वरीयताकै एआईजीलाई निमित्त प्रमुखको जिम्मेवारी दिने गरिएको छ । त्यस्तै सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले निमित्त प्रमुखको जिम्मेवारी वंशीराज दाहाललाई दिएका छन् । दाहाल पनि पहिलो वरीयताका एआईजी हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.