मधेश प्रदेशका अर्थमन्त्री यादवको गाडीमा तोडफोड

जनकपुरधाम । मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई चढ्ने सरकारी गाडीमाथि मधेश भवन परिसरभित्रै तोडफोड भएको छ। बुधबार बिहान मन्त्रालय अगाडि पार्किङ गरी राखिएको मन्त्री भट्टराईको ज १ झ ४४१ नम्बरको गाडीमा अज्ञात व्यक्तिले तोडफोड गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका निमित्त प्रवक्ता, प्रहरी निरीक्षक मनोज यादवका अनुसार बिहान करिब ११ बजेको समयमा एक व्यक्ति स्कारपिओ चढेर मन्त्रालय परिसरमा प्रवेश गरेका थिए। सीसीटीभी फुटेजमा देखिएअनुसार ती व्यक्तिले गाडी वरिपरि रेकी गरेपछि मन्त्रीको गाडीमा रहेको राष्ट्रिय झण्डा भाँचेर भुइँमा फालिदिएका छन्।

ती व्यक्ति कानमा फोन लगाउँदै मन्त्रालय परिसरभित्र केही बेर घुमेको फुटेजमा देखिन्छ। घटनाको प्रकृति हेर्दा यो कुनै सुनियोजित योजनाको अंश हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनापश्चात नेपाल प्रहरी र सशस्त्र प्रहरीले मधेश भवन परिसरमा केही घण्टासम्म गहन अनुसन्धान गरेका थिए। यद्यपि, मधेश भवन परिसरमा जडान गरिएका अधिकांश सीसीटीभी क्यामेरा बिग्रिएका कारण अपराधी चढेर आएको गाडीको नम्बर र व्यक्तिको पहिचान गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले घटनालाई गम्भीर रूपमा लिँदै संलग्न व्यक्ति तथा गाडीको खोजी कार्य तीव्र पारिएको जानकारी दिएको छ। प्रदेशको मुख्य प्रशासनिक केन्द्रभित्रै सुरक्षा व्यवस्थामा देखिएको कमजोरी र सीसीटीभी जस्ता संवेदनशील उपकरण मर्मत नहुनुले सुरक्षामा प्रश्न उठाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.