काठमाडौं । आर्थिक वर्ष आ.व. २०८३/०८४ का लागि काठमाडौँ महानगरपालिकाको बजेट २५ अरब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।
बिहीबार नगर सभा १९औँ अधिवेशनको तेस्रो बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले, सञ्चित कोषमा व्ययभार पर्ने २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपियाँ र वाह्य व्यय भार हुने ७५ करोड रुपियाँ गरी २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपियाँ बजेट प्रस्ताव गरेकी हुन् ।
घरजग्गाको बहाल आम्दानी वार्षिक २ लाख ४० हजार रुपियाँभन्दा कम भएमा ५ प्रतिशत र सो भन्दा बढी बहाल आम्दानी हुने आवासीय प्रयोजनका लागि बहाल कर साविकको १० प्रतिशतबाट घटाई ७ प्रतिशत कायम गर्ने प्रस्ताव छ ।
करप्रतिको अपनत्व र विश्वास अभिवृद्धि गर्न केही शीर्षकमा सिफारिस दस्तुर निशुल्क गरिएको छ । कर विश्लेषण र करको दायरा वृद्धि गर्न विज्ञ सहितको सरोकारवाला निकायसँग सहकार्य गर्ने, करदातालाई वस्तुगत सङ्घहरूसँग आबद्ध गरी दायरा फराकिलो बनाउन प्रस्ताव गरिएको छ ।
काठमाडौँलाई स्वच्छ, सफा, हरियाली, सुरक्षित सांस्कृतिक र जीवन्त सहरको रूपमा विकास गर्ने मूल उद्देश्य साकार पार्नका क्षेत्रगत सहकार्य र समन्वयनका लागि सभामार्फत कार्यवाहक प्रमुख डंगोलले आग्रह गरेकी छन् । बैठकमा उनले आर्थिक विधेयक र विनियोजन विधेयक समेत पेश गरेकी छन् । आज पेश गरिएका प्रस्ताव तथा विधेयकमाथि छलफल गर्न असार १७ गते छलफल गर्न बैठक बोलाइएको छ ।

