जेठ २१, काठमाडौं । गोकर्णमा रहेको राष्ट्रिय सहिद तथा शान्ति पार्क स्मारक परिसरमा स्कुल, कलेज तथा संघसंस्थाहरुको व्यावसायिक विज्ञापनले घेरिएको छ ।
विभिन्न कालखण्डमा मुलुकको परिवर्तनका लागि भएको जनआन्दोलनमा सहदात प्राप्त सहिद तथा घाइतेहरूको सम्झना र सम्मानका लागि स्थापना गरिएको सहिद स्मारक पार्क परिसरलाई व्यावसायिक प्रयोजनको विज्ञापनले कुरुप बनाएको छ । सहिदको अपमान हुने गरि राखिएको विज्ञापनले गर्दा पार्क नै व्यावसायिक प्रवर्धनका लागि स्थापना गरिएको हो कि भन्ने प्रश्न उब्जिएको छ ।
करिव ७२० रोपनी क्षेत्रफल रहेको यज्ञडोल बन उपभोक्त समिती समेत रहेको त्यस परिसरमा पछिल्लो समय व्यापारीक केन्द्रविन्दु बन्न थालेको छ । पार्क र त्यससम्बन्धी आवश्यक सूचना तथा जानकारी नराखी शैक्षिक संस्थाहरुको व्यावसायिक विज्ञापनले गर्दा अनिमियतताको प्रश्न उब्जिएको छ । सहिदहरुको बारेमा अध्ययन, अनुसन्धान र जानकारीमूलक केन्द्रसंगै योगा, आध्यात्मिक, पिकनिक, मनोरञ्जन लगायत पर्यटन प्रवर्धनमुलक क्षेत्रको रूपमा स्थापित हुनुपर्ने पार्कको उद्देश्य रहेता पनि पार्क परिसर अव्यवस्थित स्टल र टहराहरुले सहिदलाई गिज्याइरहेको छ ।

यसरी पार्कलाइ कुरुप बनाउदा समिती भने मुकदर्शक बनेका छन् । विभिन्न समयमा शैक्षिक संस्थाहरुले भर्ना सम्बन्धी र व्यवसायिक विज्ञापन र नाफामूलक महोत्सवहरूको ब्यानर झुण्ड्याइएको छ ।
ती विज्ञापनहरु राख्ने र पार्कभित्र विभिन्न खाजाघर सन्चालन गर्ने अनुमती कस्ले किन दियो भन्नेबारे स्थानीय सरकार अनिविज्ञ छ । यसरी पार्कलाइ सिमित व्यापारिक केन्द्र बनाउने र केही व्यक्तिको स्वार्थ पूरा गर्ने उद्देश्य हो भने राज्यको लगानी आवश्यक पर्ने देखिदैन । पार्कको निर्माणकार्यको गुरुयोजना मुताबिक समयमै सम्पन्न नहुनुमा पनि ठेगेदार र व्यवस्थापन समितिवीचको तिक्तताले भएको बुझ्न आएको छ ।
पार्क निर्माण प्रक्रियाको २० औं वर्ष प्रवेश गरेपनी गुरुयोजना अनुसारको संरचनाहरू निर्माण हुन सकिरहेको छैन। पछिल्लो समयमा त्यस पार्कलाई निजामती स्मारक पार्कको रूपमा पनि रूपान्तरण गर्न खोजिएको छ। पार्कलाई व्यवस्थित बनाउन स्थानीय सरकारले समेत बजेट छुट्याउने गरेको खुल्न आएको छ। तथापि पार्कले पूर्णता पाउन भने सकिरहेको छैन।

