जेठ १६, काठमाडौं । नेपालको प्रथम मुख्य सचिव एवम् महालेखापरिक्षक स्वर्गीय चन्द्रबहादुर थापाको सालिक अनावरण गरिएको छ।
शनिबार राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक क्षेत्रमा निर्मित स्वर्गीय थापाको सालिक शहिद सरकारका मुख्य सचिव सुमनराज अर्यालले अनावरण गरेका हुन् । गोकर्णेश्वर नगरपालिका वडा ४ अवस्थित जगडोलमा रहेको उक्त पार्क व्यवस्थापन समिति र स्थानीय तहबीच भएको साझेदारी अनुसार शालिक निर्माण गरिएको पार्क समितिका अध्यक्ष सुदर्शन सिग्देलने बताए ।

पार्कको स्थापना दिवसको अवसर पारेर साताव्यापी कार्यक्रम अभियान अन्तर्गत गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसाल नेपाल संविधानसभा सदस्य रामेश्वर फुयाल, सरकारका सचिवहरु, निजामती कर्मचारी, प्रहरी, घाइते तथा सहिद परिवारका आफन्त लगायतको उपस्थितिमा सो कार्य सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका मुख्य सचिव सुमनराज अर्यालले नेपाल सरकारको पहिलो मुख्य सचिव चन्द्रबहादुर थापाले गर्नुभएको प्रशासनिक जिम्मेवारी र योगदानलाई सम्मान गर्दै अघि बढ्नुपर्ने बताए । नेपालको पहिलो निजामती ऐन ल्याउने मुख्यसचिव थापा रहेको भन्दै उहाँकै पदमार्गमा हिड्नुपर्ने बताए । स्व. थापाले आधुनिक जनगणनामा समेत महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे । उहाँको पृष्ठभूमि नेपाली सेना भएपनि निजामती सेवामा पुर्याएको योगदानलाइ स्थापित गराउन पार्कमा निजामती सेवा सम्बन्धी अध्ययन स्रोतको व्यवस्थापन गर्न सुझाव दिँदै सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक सहयोगको पहल गरिने प्रतिबद्धता गरे ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०६४ जेठ ११ गते को निर्णयबाट निजामती पार्क घोषणा गर्दै स्वीकृत वन कार्य योजना तथा गुरु योजना अनुसार राष्ट्रिय सहित तथा शान्ति पार्क निजामती स्मारक वन को स्थापना गरिएको पार्कका अध्यक्ष सुदर्शन सिक्देले बताए। करिब ७२० रोपनी क्षेत्रफल रहेको सो पार्क क्षेत्रमा विभिन्न कालखण्डमा भएको मुलुक परिवर्तनको आन्दोलन ज्यान गुमाएका सहिदहरुको शालिक तथा सांस्कृतिक स्तम्भहरूको निर्माण गरिएको छ ।


