असोज ३०, काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनमार्फत बिजुली प्रयोग गर्ने उद्योगहरूले नेपाल विद्युत् प्राधिकरणलाई बक्यौता प्रिमियम महसुल तिर्न सुरु गरेका छन् । किस्ताबन्दीमा बक्यौता तिर्ने उद्योगहरूमा सम्राट् सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डस्ट्रिज छन् ।
यी उद्योगले २८ किस्ताको सुविधा लिएर केही रकम तिरे पनि गत वैशाखदेखि किस्ता भुक्तानी रोकिएको थियो । सम्राट् सिमेन्टस् २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेबापतको ३ करोड ७७ लाख बक्यौता रकमलाई प्रतिकिस्ता १३ लाख ४९ हजार रुपैयाँका दरले २८ मासिक किस्तामा तिर्ने स्वीकृति प्राप्त भएको थियो ।
चार किस्ता तिरेपछि वैशाखदेखि भुक्तानी रोकिएको थियो । हाल उद्योगले तीन किस्ताको ४० लाख ४७ हजार रुपैयाँ एकमुष्ट तिरेर जेठसम्मको किस्ता चुक्ता गरेको छ । असारदेखि असोजसम्म ११ किस्ता तिर्नुपर्नेमा सात किस्ता मात्र तिरिएको छ । बाँकी ४ किस्ताको ५३ लाख ९६ हजार रुपैयाँ तिर्न प्राधिकरणले पुनः पत्राचार गरेको छ ।
नेपालगञ्जस्थित प्राधिकरणका प्रमुख दीपक गौतमका अनुसार उद्योगले बाँकी रकम तिरेर नियमित किस्ता भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ । रोल्पा सिमेन्टले ९९ लाख १२ हजार बक्यौता रकमलाई प्रतिकिस्ता ३ लाख ५४ हजार रुपैयाँका दरले २८ मासिक किस्तामा तिर्ने स्वीकृति प्राप्त भएको थियो । छ किस्ता तिरेपछि भुक्तानी रोकिएको थियो । हाल पाँच किस्ताको १७ लाख ७० हजार रुपैयाँ एकमुष्ट तिरेर उद्योग नियमित किस्ता तिर्ने अवस्थामा पुगेको छ ।
अब १७ किस्ता बाँकी छन् । नव नेपाल प्लास्टिक इन्डस्ट्रिजले १२ किस्ताको १ लाख २३ हजार रुपैयाँ तिरेर बक्यौता रकम पूर्णरूपमा चुक्ता गरेको छ । यी उद्योगहरूले बक्यौता तिर्ने प्रक्रिया पुनः सुरु गरेसँगै प्राधिकरणले नियमित भुक्तानीका लागि समन्वय गरिरहेको छ ।

