–शशिशेखर घिमिरे
सिन्धुपाल्चोक जिल्लाको उत्तर पश्चिम भेगको साविकको भोताङ गा.वि.समा पर्ने “पाँचपोखरी” धार्मिक र पर्यटकीय महत्वको गन्तव्य हो । समुन्द्री सतहदेखि ४१०० मिटर उचाईमा रहेको पाँचपोखरी हालको नयाँ संरचनामा “पाँचपोखरी” थाङपाल गाँउपालीकाको ३ नंम्वर वडामा पर्छ । ३४,६९७ जनसंख्या रहेको गाँउपालीकामा तामाङ जातिको बाहुल्यता ज्यादा छ, भने गाँउपालीकाको ३ नंम्वर वडामा मात्र ४,०९६ जनसंख्या रहेको छ । जस्मा दुई घर नेवारले आफनो रितीथिती भाषासंस्कृति धान्दै आएका छन् । १६ घरधुरि दलित समुदाय रहेका छन् ।

संसारकै उच्च स्थानमा रहेको पोखरीमध्य नवौं स्थानमा पर्ने पाँचपोखरी सिन्धुपाल्चोकको नै एक उत्कृष्ट गन्तव्य हो । ईन्द्रावतीको उद्गमस्थल पाँचपोखरीमा साना ठूला धार्मिक र पर्यटकीय महत्वका पोखरीहरु रहेका छन् । पाँचपोखरीमा एकादशीदेखि जनैपूर्णिमाको दिनसम्म विषेश मेला लाग्ने गर्दछ । मेलामा सिन्धुपाल्चोक र आसपासका जिल्ला सहित काठमाण्डौ उपत्यकावाट समेत ठूलो संख्यामा दर्शनार्थीहरु पुग्ने गरेका छन् । “पाँचपोखरी” आसपासका स्थानमा आमायाङरी, ड्रयागन गुफा, हवेली दरवार, च्योच्यो डाँडा,नागी डाँडा, ज्योवाथान डाँडा” लगायत “जुगल हिमाल,दोर्जे लाक्पा हिमाल समेत रहेका छन् । पाँचपोखरी सुन्दरताको खानी हो अनि सवैको दिलको रानी । यसै पाँचपोखरीको सौन्र्दयताको बयान गर्न र उसको रुपमा मोहीत भएर लठ्ठ पर्न आन्तरीक र बाह्य पयर्टक भने प्रवद्र्धन हुनैपर्ने देखिन्छ ।

“पाँचपोखरी“ थाङपालवासीको मुहारमा खुशि ल्याउने ईश्वरीय बरदान हो । जो पर्यटन विकास मार्फत स्थानीयको खुशीमा मिसिन आतुर छ । स्थानीयलाई आर्थिक र सामाजिक रुपमा सवल बनाउन चाहान्छ । स्थानीयको चाउरीएको मुहारमा खुशी ल्याउन, दुई छाँककै लागि खाडीको राप र तापमा सेकिन जानेहरुको लर्कोमा कमि ल्याउन अनि प्राण भन्दा प्यारा लालाबाला अनि आमावावुलाई विदाईको हात हल्लाउनेहरुको स्ांख्यामा कमि ल्याउन पाँचपोखरीको मुहार चम्काउनै पर्छ । पाँचपोखरी थाङपाल गाँउपालीकाको भूगोल चहारेर हेर्दा, अवोध बालबालीकाको चेहरा नियालेर हेर्दा अनि दुइ छाँककै चाहानाले उकालोमा भारी बोकेर उक्लिरहेका निधारहरुवाट चुहिएको पसिना हेर्दा “पाँचपोखरी” ईश्वरको देन मात्र बन्ने छैन् । डलर झर्ने मेशिन बन्न सक्छ । भौगोलिक अवस्थाको कहरले सिंहदरवारबाट उति टाढा नभएरै पनि सिन्धुपाल्चोकको उतरी क्षेत्र पाँचपोखरी–थाङपाल कठिन भूगोलभित्र पीडा लुकाएरै बाँचेको भान पर्छ त्यहाँ पुग्ने जोकोहिलाई ।

चील गाडीको त के कूरा ? मोटर चढ्न हजार चोटी सोच्न वाध्य थाङपालवासी सामान्य स्वस्थ्य उपचारको लागि कोशौ दूरी तय गर्न पर्ने नियतीमा छन् । बिद्यालय जान सहज छैन । घटिमा दुई देखि पाँच घण्टाको बाटो तय गरेपछि कक्षाकोठाहरु भेटिन्छन् । भेटिएका कक्षाकोठाहरुमा मुश्किलले शिक्षक भेटिन्छन् । कतिपय वडाका विद्यार्थीको लागि विद्यालयका कक्षाकोठा पुग्न अझ ज्यादा कठिन छ । कारण धेरै बालबालिका विद्यालयको ढोकावाट प्रवेश नै नपाइ शहरको रंगिन दुनिँयामा हराउन बिवश छन् । कति भारततिर पुगेका छन् । कुहिरो भित्रको स्कूल छिचोलेर पढ्न र लेख्ने चाहानालाई ठूलाठला पहाड बाधक बनिरहेका छन् । विद्यालय जान कठिन भएकै कारण धेरैले तीन, चार कक्षा पढ्दा नपढ्दै विद्यालय छोडेको कैयौं दुष्टान्त भेटिए । भौगोलीक कठिनाईका कारण धेरैले चाहेरै पढ्न नपाएको भेटियो । पाउनेले पनि परिवारको गर्जाे टार्नकैलागि अलि धेरै कक्षा पढ्न पाएनन् । कामको खोजीमा घर छोड्न प¥यो । गरिवीले सानै उमेरमा विदेश र काठमाण्डौ धकेल्यो । यसका बाबजुद लोभलाग्दो जीन्दगीका मालिकहरु पनि भेटिए । जोसंग राजधानीमा घर मात्र छैन्, मोटरगाडी पनि छ । विदेशमा सुविधासम्पन्न जीवन छ । राजधानीको मँहगा शिक्षणसंस्थामा पढाई छ । तर जो एक छाँक खान सय चोटी सोच्न वाँध्य छन् । तिनको जीवनस्तर सुर्धान गाँउपालीकाका धेरै पर्यटकीय संभावनालाई उजागर गर्न आवश्यक देखिन्छ ।

मौसमी होटल व्यवसायले सवल बन्दै स्थानीयः
मिगाँउवाट झण्डै एक घण्टाको पैदल यात्रा पछि पुगिन्छ “देउराली” । जहाँ फूरसिंगी लामा “दुई नातीनातीना” र श्रीमतीसंगै होटलमा भेटिए । फूरसिंगीका तीनजना छोराहरु रहेछन् । जसमध्य एउटा यार्साम र माईलो र जेठो काठमाण्डौंमा बस्ने रहेछन् । यहि परिवारले आफनो पसल मार्फत दिएको सत्कारको वर्णन गरि साध्य थिएन् । उमेरले ५९ वर्षका फुरसिंगी २०७२ सालको भुइचाँलोमा जंगलमा काठ चिर्दै थिए । फर्क्रदा घर थिएन । वषौ घामपानी छलेको घर नहुदाँको पीडाले अहिलेसम्म पनि सताएको रहेछ फूरसिंगीलाई । आफूहरुले वषौसम्म टुकिको धिपधिपे र सल्लाको दियालोमा रात गुजारे पनि नातिनातिनाले बिजुलीको मुख देख्न पाएकोमा भने उनि दंग थिए ।

हो, देउराली डाँडा अव पहिला जस्तो अध्याँरोमा छैन । चार मेगावाटको दुखनगुम्वा पावर हाउसले गाँउलेलाई उज्यालो दिएको छ । देउरालीको पैत्तिस घरको दुईसय परिवारले विजुली वाल्न पाएका छन्, “एक जनाले रोजगार” । शिक्षा र स्वास्थयको लागी अझै पनि देउरालीवासीले घण्टौ हिड्न पर्ने नियती हट्न सकेको छैन । स–साना केटाकेटी स्कूल जादाँआँउदा लखतरान हुने गरेका छन् । नयाँ पुस्ताले राम्रोसंग शिक्षादिक्षा पाएको खण्डमा मात्र पयर्टन विकासको आधार मजवूत हुन्छ भन्ने पनि उनिहरुले बुझेका छन् । तर वाध्यताको जन्जीरले धेरैलाई बाधेकै कारण पढ्न लेख्न छोडेर कमाउनकै लागि घर छोड्न पर्ने बाध्यता छ ।

माईजाम्वु दुखानकी नानीमाया तामाङ उमेरले २५ वर्षकी छिन् । दुई छोरी र एक छोरा रहेका तामाङको श्रीमान नीमा दोर्जे स्वदेशमै औसत समय बिताउछन् । मकैं, आलु र गँहु खेतिले वर्षभरि खान धौ–धौ छ । मेला लक्षित व्यापार गरेर नानीमायाको परिवारले दश देखि पन्ध्र हजारको हाराहारीमा कमाँउछ । समुन्द्री सतहवाट छव्वीस सय मिटर उचाईमा रहेको चित्रेखर्क पछि टुप्पीडाँडामा दुईटा गोठ दायाँबाँया थिए । एकापट्टि चालिस वर्षिय मिङमार छिरिङको र अर्कोपट्टि छिरिङ तामाङको । चार छोराछोरीका बाबु मिङमार उमेरमै साठ्ठी हाराहारीका देखिन्थे । जस्लाई गरिवीको कहरले उमेरमै बुढ्यौलीको छनक दिईरहको थियो । छोराछोरी पढाउन मात्र हैन हजूर बिरामी भए उपचार गराउन ज्यादै गाह्रो छ । मिङमारले बलिरहेको दाउराको भुङग्रो ठोस्दै भने । “बच्चाहरुलाई स्कूल तलतिर भोताङ पठाउनुपर्छ, बाटोमा के हुने हो भनेर चिन्ता लागिरहन्छ । बिरामी भए मानेखर्क पुग्नुपर्छ ” । गाँउमै सवैथोक भईदिए हुन्थयो भनेर भोट हालेको हो । खै अहिल्यसम्म केहि भएको छैन् , मिङमारको भनाई थियो । दुईचार पैसाको आशमै मिङमार निगार, कोदोको रक्सी र आलुको परिकार बेचिरहेका छन् । ”टुप्पीडाँडामा“ चिसो बतासको वास्ता नगरि ।

पाँचपोखरीवाट झण्डै चौविस किलोमिटरको दूरीमा गाउँपालीकाको बडा नंम्वर चारमा रहेको रैथानेश्वरी पोखरीवीच सम्वन्ध रहेको स्थानीयको भनाई थियो । “पाँचपोखरी गएर तल झरेपछि रैथानेश्वरी मन्दीरमा दर्शन गर्नै पर्छ भन्ने मान्यता छ” । “यहाँ गाइजात्राको दिन विषेश मेला लाग्छ, “जात्रा देखाइन्छ” । “जनैपूणिमाको दिन माथि पाँचपोखरी जाने धामीझाँक्री यहि मन्दीरमा आएर विषेश पूजापाठ र नाचगान गरेपछि जात्रा सम्पन्न हुन्छ । स्थाने रैथानेश्वरी माविका शिक्षक ज्ञानबहादुर तामाङले सुनाए । जात्रा हेर्न मेलम्ची, थाङपाल देखि आसपासका स्थानहरुवाट मान्छेहरु पुग्ने र शिवरात्रीमा समेत विषेश चहलपहल हुने उनले बताए ।
भरिया जीन्दगी “नाम्लो–बरियो र डोको”
पाँचपोखरी थाङपाल गाँउपालीका छिम्देनका तस्वीर तामाङ उमेरले ३४ वर्षका भए । विद्यालयको कक्षाकोठावाट प्रवेश नै नपाई जीन्दगीको कहरले तस्वीरलाई भरिया वनायो । जो यतिखेर मेलामा आउने तीर्थयात्रीदेखि पर्यटक सम्मको भारी वोकेर त कमाँउछन् नै संगै पाँचपोखरीमा लाग्ने मेलामा संञ्चालीत पसलका सामान बोकेर जीवनको रथ घिस्रादै छन् , “उकालो चढिरहेका हुन्छन्”, “पसिना पुछिरहेका हुन्छन्” । त्यसो त यो उमेरमा तस्वीरहरुले विदेशको रंगिन सपना नदेखेका पनि हैनन् । तर दुईछाँककै लागि मरिमरि भारी बोकीरहेका तस्वीरहरुलाई विदेश र राजधानीको रिमि र झिमि भन्दा गाँउको त्यहि डाडाँकाँडा र उकाली ओराली प्यारो लाग्न थालेको उनिहरुको भनाइले प्रष्टाउथ्यो । “कहाँ हजूर सानोमा पढ्न पाएनौ, “पढ्न त मन थियो नि ! “घरको काम गर्नै पर्ने, ”खेतिपाती गर्नै पर्ने” पढ्न पाएन् के गर्नु ? तस्वीरको दुखेसो थियो । “गाँउमा लगाएको खेतिपाती ब्ाँदेलले खाएर सखाप पार्छ”, “यहि भारी नवोके छोराछोरीको मुखमा माड लाग्दैन्” । “नोस्याम सम्म पु¥याएको १५०० दिन्छन्, ”माथि लौरिबिनामाथि पोखरीमै पुराएको तीन हजार दिन्छन्,” वोकेको भारी बिसाउदै उनले सुनाए । घरमा रोपेको अन्नपात छोराछोरी र बूढीलाइ रेखदेख गर्न लगाएर तस्वीरहरु यो उमेरमा माथि उक्लिरहेका छन् ।

तस्वीरसंगै भारी बोक्ने अर्का दौतरी छन् । “विरान तामाङ” । जस्लाई गाँउलेले माया गरेर साँइला नाम पनि दिएका रहेछन् । उमेरले ५४ वर्षका विरानको शिरमा कालो टोपी र इस्टकोट थियो । उनलाइ मन पर्ने लवज नै यहि हो रे । विरानले निधारको पसिना पुछ्दै भने । त्यसो त तस्वीर र विरानहरुलाइ घरमा रोपिएको कोदो,आलु र मकैले खानै नपुगेर नै उकालो चढाईरहेछ । उनिहरु जस्ता सयौं भरिया वर्षको केहिदिन मात्र हैन सदावहार रुपमा भारी बोकेर कमाउन पाईयोस् भन्ने आशामा छन् ।
होमस्टेः घरबास सेवा
पुननिमार्ण जिविकोपार्जन परियोजना अन्र्तगत संञ्चालीत एउटा होमस्टे पाँचपोखरी थाङपाल गाँउपालीकाको वडा नंम्वर ४ को बाटोमै थाङपालकोटमा संञ्चालीत छ । होमस्टेमा उमेरले २८ वर्षिय पेशाले शिक्षिका समेत रहेकि सुनिता लामा भेटीइन् । बि.एड. सम्मको अध्ययन गरेकी लामाले फुर्सदको समयमा घरमै चलाइएको होमस्टेमा परिवारलाइ सघाँउने गरेको सुनाइन् । २०७२ सालको भूकम्पपछि लामा परिवारले आफूले चलाँउदै आएको होटललाइ होमस्टेमा परिणत गरेको आमा साम्वा लामाले सुनाइन् । होमस्टे चलाउने सोच भने लामा परिवारलाई आफै आएको भने होइन् रहेछ । ‘महिला आत्मनिर्भर केन्द्रले दिएको सोचका कारण लामा परिवारले होमस्टेको अवधारणामा आफनो होटललाइ परिणत गरेका रहेछन् । जसको लागि केन्द्रले पचास हजार बराबरको जिन्सी सामान दिएको छोरी सुनिताले सुनाइन् ।

होमस्टेमा सधैजस्तो खचाखच पाहुना नभएपनि बेलाबखत विभिन्न संघ–संस्थाका कमचारीको अलवा सरकारी र ग्रैहसरकारी संस्थाका कमचारी पुग्ने गरेको सुनिताले सुनाईन् । पाँच जनाको परिवार रहेको लामा परिवारलाइ होमस्टेले घरखर्च चलाउन सहयोग त गरेकै छ आँउदा दिनमा अझ धेरै होला भने मनभरि आशा छ । “यहि गाँउपालीकाको भोताङ र गुन्सामा पनि दुईवटा छ”, “अर्को चाहि कुन्नि के भन्ने ठाँउमा छ ,मलाई ठ्याक्कै याद त भएन् तर सबै गरेर चार वटा छन् । सुनिताले अनकनाउदै सुनाईन् । होमस्टे मार्फत स्थानीयले आतिथ्यता सत्कार र मिठो मुस्कान बेचेर खुशी किनिरहेका छन् । होमस्टे मार्फत आर्थिक रुपमा सवल बन्ने बाटोतिर लम्कदै छन् । उनिहरुको सोच र अभियानलाई हृदयदेखि सलाम ।
कठिन छ “शिक्षा–स्वास्थ्य,” “दयनीय छ महिलाको अवस्था”
जिल्लाको उत्तर पश्चिम भेगको कुनामा जन्मनु परेको पीडाले शिक्षा र स्वास्थ्यवाट वञ्चीत नागरिकको वेदना सुन्नेलाई भन्दा भोग्नेलाई पहाड लाग्दछ । जहाँ दैनिक जीन्दगी मरेरै वाँचेको छ । आफ्नो एक वषीया छोरीको उपचारकै लागि लाक्रेबाट गाँउपालीकाकै ६ नंम्वर वडामा पाँच घण्टा हिडेर आउन बाध्य ब्रम्ह र मिना तामाङकै बेदना होस् या रिपोटीङको क्रममा गाँउपालीकाको वडा ३ का विभिन्न स्थानका जनताले सुनाएका दुखको फेहरिस्त सुनि साध्य थिएन । ब्रम्हको जोडि त एक प्रतिनीधि उदाहरण मात्र थियो । जहाँ धेरै त्यस्ता कहालीलाग्दा नियती भोग्न विविश जनता स्वास्थ्य र शिक्षाको पहुँचवाट टाढा थिए । त्यसो त राज्यले सवै नागरिकको पहुँचमा स्वास्थ्य सेवा दिने प्रतिवद्धता गरेपनि सिन्धुपाल्चोकको साविक भोताङ गाविसका कतिपय जनताहरु कोशौं हिडेर पाँचपोखरी थाङपाल गाँउपालीकाको वडा ६ मा रहेको धुलिखेल अस्पताल मानेखर्क स्वास्थय केन्द्र धाउन बिवश छन् । सडकका ठाँउ–ठाँउमा बालविवाह विरुद्ध, महिनावारी, स्वच्छ खानेपानी र शिक्षासंग सम्वन्धीत संन्देशहरु थिए ।

त्यसो त गाँउ छिरेका सरकारी र गैरसरकारी संस्था र आइएनजीओको प्रभाव जति हुनपर्ने हो, त्यति नभएको पनि महिलाहरुको अवस्थाले देखाइरहेको थियो । उमेर ३० वर्ष बताउने मिना तामाङकै अनुहारमा देखिएको बुढ्यौलीको धर्सा, अनि उनले जन्माएको तीन छोराछोरीको संख्या र १९ वर्षमा २१ वर्षका व्रम्ह तामाङ संग विहे गरेको भनाइले पनि गाँउमा बालबिबाह र परिवार नियोजनको साधनहरुको उतिसारो ज्ञान र उपलब्धता नरहेको देखाँउछ । अर्को तिर छोरी जन्मे सुख मिल्छ भन्ने अज्ञानताको शिकार पूर्ण रुपमा हट्न सकेको छैन । पुरषहरु पढ्ने रहर दवाएरै कक्षा छोड्न पर्ने नियतीमा छन् । ३ कक्षा पढेपछि विद्यालयको अभावमै बाँकि कक्षा चढ्न नपाएका ब्रम्ह तामाङकै शव्द उत्रार्दा धेरै गाँउका पुरषहरु कम उमेरमै कि राजधानी कि खाडीको राप र तापमा सेकिदै छन् । धेरै जसो पढ्नकै लागि भोताङ मावि आउन पर्छ । गाँउपालीकाको लाक्रे आधारभूत विद्यालयमा ३ कक्षा पछि छैन । त्यसो त गाँउपालीकाको ३ वडामा भोताङ स्वास्थय चौकी त छ, तर सेवा उति राम्रो छैन् ।

अशिक्षाकै कारण एक समय छोरी जन्मे सुख मिल्छ भन्ने रुढिवादी धारणामा त क्रमशः परिवतर्न आएपनि अझै धेरै छोरीहरु उच्च शिक्षाको ढोका छिर्नु अगावै कक्षा छोड्ने चलन रहेको देखिन्छ । सामाजीक कार्यकर्ता हसिना तामाङकै भनाइले पनि पछिल्लो समय चेतनामा आएको परिवर्तन र शिक्षामा आएको चेतनाले सन्तानलाई पढाउन पर्छ भन्ने मान्यता त विकसीत भएको छ तर अझै थोरै मात्र प्रवेशिका परिक्षा उतिर्ण गरिरहेकाहरुको तथ्यांकले परिवर्तन हुन कति समय लाग्ला यकिन भन्न सकिन्न । सात, आठ कक्षा पढ्दा–पढ्दै विद्यालय छोड्ने परिपाटी हट्न सकेको छैन । गाँउमै भएका युवाहरु मध्य थौरैलेमात्र बाह्र कक्षासम्म अध्ययन गरेका छन् । तर त्यो उर्तिण दर कम नै रहेको देखिन्छ । २०६१ सालमा भोताङ माविवाट प्रवेशिका पास गर्ने “प्रथम तामाङ महिला सगरमाथा आरोही” कान्छीमाया तामाङकै शव्द सापटी लिएर भन्दा पनि उनले समेत थप कक्षा पढ्नुको साटो वैदेशीक रोजगारको लागि भारत र इजिप्ट ८ वर्ष वस्नुले पनि गरिवीको कारण धेरै छोराछोरीहरु पढ्ने रहर बन्धकी राखेर विदेशीएको देखिन्छ ।
त्यसो त घरको छानोमा जस्तापाता नभए समाजमा अपहेलित होइन्छ भनेर छोरीचेलीलाई कुनैसमय भारत घचेट्ने बाबुआमाको संख्या क्रमशः नयाँ पुस्तामा घट्दो छ । पछिल्लो समय श्रम गरेर कमाउन पर्छ भन्ने मान्यता विकास भएको वडा ३ का अध्यक्ष निमा छिरिङले सुनाए । जस्को कारण वैदैशीक रोजगारकोलागि भारत, दुवही,मलेशीया,इजीप्ट र कतिपय यूरोपका देशहरुमा पुगेका छन् । उनिहरुले पठाएको रकमले घरको छानो जस्ताको मात्र हैन पिल्लरयुक्त क्रंकिटकै देखिन थालेको छ । त्यसो त २०७२ सालको भुइचाँलो पछि जिल्लाका प्राय तामाङ बस्तीहरुले आफनो मौलिक स्वरुप गुमाउदै गएपनि स्थानीयको आर्थिक अवस्था केहि सवल बनेपनि शिक्षाको पाटो भने कमजोर नै रहेको देखिन्छ । विदेश गएकाहरुको रेमिट्यान्सले गाँउमा परिवर्तन देखिदो छ । गाँउ छिरेको त्यहि रेमिट्यान्सको केहि हिस्साहरुवाट अव स्थानीयले विदेश जाने प्रवृतिलाई कम गरेर पाँचपोखरी र अन्य पर्यटकीय गन्तव्यहरुलाई आधार मानेर गाँउमा होटल चलाउने होस या पुराना तामाङवस्तीलाई पुरानै मौलिक स्वरुपमा जोगाएर “इन्टानजेवल कल्चरल हेरिटेजको” रुपमा विकास गर्ने होस् या होमस्टे चलाउने होस् गाँउलेलाई आकर्षित गराउन आवश्यक देखिन्छ । त्यसो त प्यराग्लाइडिङ, बन्जी जम्पीङहरुको विकास गरि गाँउमै डलर र पैसा भित्राउने अभियानमा गाँउपालीकाले स्थानीयलाइ जागरुक गराउन आवश्यक देखिन्छ । गाँउमै स्थानीय रोजगार सीर्जना गरेर अघि बढ्ने गाँउपालीकाकै अध्यक्ष टासी लामाको योजना पनि पर्यटन लक्षित होस, गाँउलेहरु कमाउनकै लागि पाखुरीमा बल बोकेर पराईको भूमि सिंञ्चीत गन जान नपरोस्, अनि पाखुरीमा बल सकिएपछि आफनो पाखापखेरा सम्झेर रुनु नपरोस् यहि कामना अनि चाहाना ।
पशुपालन
चरन क्षेत्र र उचित हावापानीका दुष्टिकोणले सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाँउपालीका अनूकुल देखिन्छ । हिमाली जिल्ला भएका कारण चोैरी पालनको लागि हावापानी राम्रो भएको पशुविद्हरुको ठहर छ । चौरीपालनको दुष्टिकोणले संभावना भएको जिल्लामा सँम्वन्धीत निकायले चौरीपालनलाइ प्रोत्साहन दिने हो र सोहि अनुसारको वातावरण तय गर्ने हो भने एकातिर कमाउनकै लागि विदेश जानेको संख्यामा कमि आउने देखिन्छ भने अर्काेतिर चौरीको दूध, घिउ र छुर्पीवाट मनग्य कमाउन सकिन्छ ।

जिल्ला भित्रने आन्तरीक र बाह्य पयटकलाई चौरीको परिकारहरुको माध्यमवाट स्वागत गरि पैसा आर्जन गर्न सकिने पक्षलाई स्थानीयले भुल्न नहुने देखिन्छ । चौरी चरिचरणको क्षेत्र तोक्न पनि आवश्यक देखिन्छ । ताङ्गु खर्कको गोठमा भेटिएका शेराप तामाङ जो उमेरले ६३ वर्षका छन् । उनको गोठमा गाई र बाख्रा गरि ६० वटा छ । यसैबाट उनले बाषिक ५० देखि ८० हजार सम्म कमाँउछन् । साथ छ श्रीमति “पेम्वा लामाको” । कोदो,मकैं र आलु फलाउने शेरापहरुको पसिनाले दुईचार रुपैयाको लागि अरुसंग हात थाप्न पदैन् । कामकै लागि भारतको ‘दिल्ली’ पुगेका साँइलो र काँइलो छोराकै लागि बाबु शेराप एक प्रतिनीधि उदाहरण त हुन नै गाँउमा केहि छैन भनेर कता कता भौतारिरहेका उनका १३ मध्य बाँकि ११ छोराछोरीको लागि र विदेशको सपनामा खोरिया बन्धकी राखेर कोरिया र खाडी जान तल्लीन आमनेपाली युवाहरुको लागि गतिलो उदाहरण पनि हुन् “शेराप” । जो सवैगरि वर्षको लाख ज्यादा कमाईरहेका छन् । शेरापहरुको महिनेतलाई केलाँउदा गाँउमा पशुपालनवाट समेत आर्थिक अवस्था सुधान सकिने पाटोलाई भुल्न सकिदैन ।
स्थानीय उत्पादन (छुर्पी,कोदो,मकैं,बक्खु,राडी,अलैंची र आलु सम्म)
छुर्पी देखि कोदोको रक्सीसम्म, परम्परागत बक्खु देखि राडी सम्म बुनेर स्थानीयस्तरमा साना घरेलु उद्योगलाई प्रर्वद्धन गरि राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरसम्म बजारीकरण गर्नकोलागि स्थानीय कालीगढलाई प्रोत्साहनको अलवा नयाँ पुस्तालाई सीप सिकाउन आवश्यक देखिन्छ । छुर्पी बनाउने सपिको अभावमा बिक्रि नभएको होस् या प्रमुख नगदे बाली आलुको मूल्य त्यति नभएको होस् या ठाँउठाँउमा रोपिएका अलैंचीले आर्थिक संभावना धेरै देखाँउछ । यी संभावनालाई उजागर गरि व्यवासायीक रुपमा अघि बढ्न आवश्यक छ ।

पाँचपोखरी थाङपाल गाँउपालीकाको आर्थिक समृद्धिको आधार दर्जनौ रहेपनि युवाहरु सस्तो कामकै लागि विदेश र राजधानी भौतारीनु पर्ने नियतीहरुलाई गाँउपालीका अध्यक्ष टासी लामाहरुको साथ चाहिन्छ । जहाँ आलु फल्ने वडाले धान फल्ने वडासंग चामल साट्ने सटही प्रथा कायम छ । त्यहा आलुका फरक परिकार उत्पादन गरेर स्थानीय रोजगारी सीर्जना गरेर अघि बढ्न सकिन्छ । केहि समय अघिसम्म बंक्खुको उत्पादन धेरै भएपनि पछिल्लो समय आधुनिक लुगाको मारमा बंक्खु पर्दै जाँदा स्वास्थ्यको दुष्टिकोणले राम्रो जाडोमा लगाईने र पानी नर्छिने बंक्खुहरुको उत्पादन न्यून रहेको वडा अध्यक्ष निमा छिरिङको भनाई छ । त्यसो त पछिल्लो समय स्थानीयहरुले च्याङ्गा पाल्न छोडेपछि कच्चा पर्दाथको अभावमा बंक्खु उत्पादनप्रति स्थानीयको रचि घट्दै गएको देखिन्छ ।
स्थानीय पदमार्ग र केवलकार
धार्मिक तथा पर्यटकीय स्थल पाँचपोखरीमा केवलकार निर्माण हुने भएको छ । केबलकार निर्माण गर्नकालागि पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धु हिमालयन केवलकार कँम्पनीबीच विस्तृत परियोजना र साझेदारीमा निर्माण गर्न सम्झौता भएको गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए । केवलकारको लागि गाउँपालिकाका अध्यक्ष लामा र कँम्पनीका सञ्चालक विष्णुप्रसाद कुईकेलवीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार कम्पनीले छ महिनामा केवलकारको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने छ । त्यसको तीन बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । साविकको भोताङ गाविसको छिम्दी देउरालीबाट लौरीवीना करिव ७.५ किलोमिटरको हुनेछ । पर्यटकीय गन्तव्यको रुपमा विकास हुने लक्ष्यका साथ अघि बढिरहेको उक्त पदमार्गमा केवलकार संञ्चालनले स्थानीय पदमार्ग संकटमा पर्न सक्ने मूलपानी वडा नंम्वर ६ का ईलबेश ढुँगानाले सुनाए । जो एक्लै पाँचपोखरी उक्लदै थिए । “अरु बेला त साथीभाई आफन्त हुन्छन् नी” प्रकृतिसंग एक्लै हराउन पाउनु नै यात्राको मज्जा हो ” कानमा लगाएको एअरफोन झिक्दै उनले सुनाए । “यस्ता टेक्रिङ रुटहरुलाई यहि अनुसार छोड्न पर्छ,” उनको भनाई थियो । त्यसो त नोस्याममा सुस्ताई रहेका झापा कन्काई नगरपालीकाका ७९ बर्षिय हरि प्रसाद गजुरेल, नुवाकोटको लिखु काउलेबाट पाँचपोखरी दर्शन गर्न जादा हिड्न नसकेर फर्कदै गरेका बलमान तामाङहरुको लागी केवलकारको उपयोगिता भने ज्यादा देखिन्छ ।

ताप्काखर्कका जयबहादुर तामाङलाई पनि केवलकार संञ्चालनले आफूहरुको मौसमी रोजीरोटी गुम्ने हो कि भन्ने चिन्ताले सताएको रहेछ । जो मेलामा आउने दर्शनार्थीलाई व्यापार गरेर पैसा कमाईरहेछन् । नोस्यामपाटीमा चौविस बर्षिय गोपाल तामाङ आगन्तुकलाई भात पस्कन व्यस्त थिए । सँगै थिए एकाईस बर्षिय साथी विकास तामाङ, छव्वीस बर्षिय साथी शंकर र चौविस बर्षिय साथी हिमा तामाङ । यी चारजना युवाहरु मिलेर नोस्याममा चलाएको बासगोठले उनिहरुलाई लार्खौको कमाई दिईरहेको छ एक सिजनमा । उनिहरुलाई पनि केवलकार चल्ने कुरााले उतिसारो खुशी दिएको छैन । जोरपाटीको अरुणिमा माविबाट १२ कक्षा पास गरेका गोपालको तेह्र जनाको परिवारका धेरै जस्तो सदस्य विदेशीएका छन् । । विद्युतको अभावमा कष्टकर जीवन गुजारीरहेका गोपालहरुले विकासको सपना देखेर मत दिएर पठाएपनि विकास नभएको दुखेसो गरे । बाटोघाटो राम्रो होस् , बिद्युत आओस् ,अनि बर्षैभरि पर्यटक आउन् । उनिहरुको एउटै चाहाना छ । त्यसो त केबलकार निर्माण गर्ने एरिया लाङटाङ राष्ट्रिय निकुञ्जको रेडपाण्डा पाइने क्षेत्रमा पर्ने भएकाले केहि कठिनाइहरु भएपनि केवलकार स्थानीयको जीवनमा बरदान बनोस् न कि अभिशाप ।

कसरी जाने ?
काठमाडौंबाट ७० किलोमिटरको मोटर यात्रा पछि मेलम्ची पुगिन्छ । त्यहाँबाट तिपेनी थाङपालधाप भोताङ छिम्ती हुँदै पाँचपोखरी पुग्न सकिन्छ । हिउँदमा भोताङसम्म गाडी चल्छ भने बर्खामा तिपेनी सम्ममात्रै गाडी चल्छ । हाँडीखोलामा पुल बनेको छ तर मोटरगाडीको लागि खुल्ला छैन । दुईपाङ्ग्रे मोटरसाईकल मात्र गुड्छ । भोताङबाट एक दिनमा हिडेर पाँचपोखरी पुग्न सकिन्छ । हरेक बर्ष जनैपुर्णिका दिन मेला लाग्ने पाँचपोखरी धार्मिक र पर्यटकीय स्थल हो ।

हिमालको काख रहेको यो क्षेत्रमा यार्सागुम्वा समेत पाइन्छ । पूर्वाधारको विकास गर्न सके पाँचपोखरी उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्छ । यात्राको क्रममा स्थानीय तामाङ भाषासंस्कृति र भेषभूषा नियाल्दै अघि बढ्दै जादाँ कतै ठूलठूला पहाड त कतै बगीरहेको झरनाहरुका कारण यात्रा साँच्चै रोमाञ्चकारी बन्न पुग्दछ । सडक किनारमा मकैं, धान ,कोदोको दुश्यले आनन्दीत तुल्याँउछ ।

