खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने

जेठ २१, काठमाडौँ । पिपुल्स इनर्जी लिमिटेड’ले निर्माण गरिरहेको खिम्ती–२ जलविद्युत् आयोजनाको शेयर प्रत्याभूति व्यवस्थापन कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ ।

पिपुल्सले सर्वसाधारणका लागि जारी गर्न लागेको धितोपत्रको सार्वजनिक निष्काशनका कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको हो । यससम्बन्धी सम्झौतापत्रमा आज कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पिपुल्स इनर्जी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले हस्ताक्षर गर्नुभयो ।

पिपुल्स इनर्जीले रामेछापको खिम्ती खोलामा निर्माण गरिरहेको ४८ दशमलव आठ मेगावाटको खिम्ती–२ जलविद्युत् आयोजनाको जारी पुँजी रु तीन अर्ब ३० करोडमध्ये २० प्रतिशतले हुन आउने ६६ लाख कित्ता साधारण शेयर जारी गर्न लागिएको हो । साधारण शेयर सर्वसाधारण, आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सामूहिक लगानी कोषका लगानीकर्ता र कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । प्रतिकित्ता रु एक सय अङ्कित दरले उक्त शेयरको मूल्य रु ६६ करोड छ ।

निजी क्षेत्रको लगानीमा निर्माणाधीन उक्त आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भइसकेको पिपुल्स इनर्जीका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । आयोजनाको आठ दशमलव ३५ किलोमिटर लामो सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेको तथा हेडवक्र्स र इलेक्ट्रोमेकानिकलको काम बाँकी रहेको उहाँले बताउनुभयो । पिपुल्सका कम्पनी सचिव जनार्दन अर्यालले आगामी एक वर्षभित्र आयोजनाको काम सकेर विद्युत् उत्पादन सुरु गर्ने तयारी भइरहेको बताउनुभयो ।

आयोजनामा सानीमा बैंकको नेतृत्वमा विभिन्न आठ वाणिज्य बैंकले ऋण लगानी गरेका छन् । आयोजनाबाट वार्षिक करिब २६ करोड युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाको वार्षिक कूल अनुमानित आम्दानी पहिलो वर्ष रु एक अर्ब ४० करोड र वार्षिक तीन प्रतिशतका दरले आठ पटकसम्म वृद्धि हुँदा नवौँ वर्षमा रु एक अर्ब ७४ करोड पुग्ने अनुमान कम्पनीको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.