वैशाख २०, काठमाडौँ । क्यानडाका लागि नेपाली दूतावासले अध्ययन अवधिभर बस्ने खाने खर्चको व्यवस्था गरेरमात्रै छोराछोरीलाई क्यानडा पठाउन नेपाली अभिभावकसँग अपिल गरेको छ। विद्यार्थीहरूको सचेतनाका लागि जानकारीपत्र सार्वजनिक गर्दै दूतावासले यस्तो अपिल गरेको हो।
‘अभिभावकहरूले आफ्ना छोराछोरीलाई अध्ययन अवधिभरका लागि शैक्षिक शुल्क र बस्नेखाने खर्चको व्यवस्था गरेर मात्र पठाउनुपर्दछ,’ दूतावासले जानकारीपत्रमा भनेको छ, ‘पठाइसकेपछि उनीहरूसँग निरन्तर सम्पर्कमा रहने, छोराछोरी के(कस्ता समस्याहरूसँग जुधिरहेका छन् भन्ने बारेमा जानकारी लिने र मनोवैज्ञानिक तथा आर्थिक रुपले सहयोग गर्नुपर्दछ।’
क्यानडा पढ्न आउने विद्यार्थीहरूले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रममा रहेको र त्यसले मानसिक समस्या पैदा गरेको दूतावासले जनाएको छ। ‘कलिला उमेरका छोराछोरीमा पर्ने अति आवश्यक खर्चका समस्या र मनोवैज्ञानिक तनावका बारेमा हेक्का राख्ने र त्यस्ता समस्या आउनै नदिने गर्नुपर्दछ,’ दूतावासले भनेको छ। यस्तै विद्यार्थीहरूले क्यानडा आउनु अघि आफू पढ्ने कलेजरविश्वविद्यालय, आफू बस्ने स्थानको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा आइसकेपछि रहनु पर्ने परिवेश जस्तै भाषा, सांस्कृतिक भिन्नता, बस्नेखाने खर्चको प्रबन्ध र स्वास्थ्य बीमा आदिका बारेमा पूर्ण अध्ययन गर्नुपर्ने पनि दूतावासको अपिलमा उल्लेख छ।
‘कलेजरविश्वविद्यालयको गुणस्तर र विश्वसनीयता यकीन गरेर मात्र शैक्षिक शुल्क तिर्नुपर्छ। डेरा खोज्दा पनि घरमालिकको तथ्य सूचना लिएर मात्र भाँडा रकम भुक्तानी गर्नुपर्दछ। सामाजिक संजालका विज्ञापनमा मात्र भर परी भुक्तानी गर्दा ठगीमा पर्न सकिन्छ,’ दूतावासले सचेत गराएको पत्रमा उल्लेख छ। धेरै सूचनाहरू सम्बन्धित वेवसाइटमा उपलब्ध हुने जनाउँदै दूतावासले पर्याप्त समय दिएर आफूले पढ्न चाहेको विधा, विषय, लिन चाहेको योग्यता, डिग्री, त्यसका लागि सबैभन्दा उपयुक्त कलेजरविश्वविद्यालय, ती कलेजरविश्वविद्यालयमा पाइने छात्रबृत्तिका अवसर र संभावना, लाग्ने शैक्षिक शुल्क, बस्नखान लाग्ने खर्च, हावापानी, आदिबारे विद्यार्थी स्वयं वा अभिभावकहरूले यथेष्ट खोजी गरी सुसूचित हुन विद्यार्थीसँग आग्रह गरेको छ।
क्यानडा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका समस्या र देशको शैक्षिक पूर्वाधार एवं आवास सुविधामा परेको चापलाई ध्यान दिँदै यसै वर्षको जनवरीमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू सम्बन्धी नयाँ नीति लिएको जानकारी गराउँदै दूतावासले भनेको छ, ‘अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या दुई वर्षका लागि ३५ प्रतिशतले घटाउने नीति रहेको छ। त्यसबाहेक निजी(सार्वजनिक साझेदारीमा सञ्चालन भइरहेका कलेजमा भर्ना भएका स्नातक र सो भन्दा मुनीका तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई आगामी सेप्टेम्बरबाट श्रम स्वीकृतिरवर्क परमिट जारी नगर्ने नीति लिएको छ।अतः क्यानडामा अध्ययनका लागि आउन लाग्नु भएका विद्यार्थीरूले यी नीतिहरूलाई विशेष ध्यान दिन उचित हुनेछ।’ क्यानडा पुगिसकेका विद्यार्थीहरूलाई पनि सचेत हुन दूतावासले अनुरोध गरेको छ।
‘कार्यस्थलमा श्रम शोषणरदुर्व्यवहाररठगीमा परेमा विद्यार्थीहरूले कार्यस्थलमा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी कानूनी उपचार खोज्नुपर्दछ। विद्यार्थीहरूले आफ्नो कलेज वा काममा जाँदारआउँदा, पैदल हिंड्दा वा सवारी चलाउँदा यहाँको ट्राफिक नियम राम्रोसंग पालना गर्नुपर्दछ,’ दूतावासले भनेको छ, ‘यहाँका सडकहरूमा अत्यन्त तीब्र गतिमा गाडीहरू चल्ने हुनाले नियम विपरित बाटो काट्दा दुर्घट्नाको जोखिम रहन्छ।ट्राफिक संकेतको पूर्ण पालना गरेर मात्र सवारी साधन चलाउने वा बाटो काट्नुपर्दछ।’

