तामाङ समाज यूएईले गरे विद्यालय र गोन्पालाई आर्थिक सहयोग

मंसिर १७, काठमाडौँ । तामाङ समाज यूएईले सञ्चालन गर्दै आएको शैक्षिक कार्यक्रम अन्तरगत काभ्रेको तेमालमा रहेको एक विद्यालयलाई नगद रकम सहयोग गरेको छ ।

प्रत्येक वर्ष विभिन्न विद्यालयहरुलाई आर्थिक सहयोग गर्दै आउने क्रममा यस पटक भने काभ्रे तेमाल गाउँपालिका वडा नं. ९ स्थित मैनाजाङ आधारभूत विद्यालयलाई नगद सहयोग गरेको हो । काठमाडौँमा एक कार्यक्रमकाबीच युएईमा संकलन भएको रकममध्ये १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सो विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं तामाङले सो रकम तेमाल गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष चन्द्र बहादुर लामा (काजी), विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दमै सिं तामाङको समूहलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । नगद रकमका साथै केही दिनमा विद्यालयमै पुगेर शैक्षिक सामाग्री वितरणको तयारी समेत रहेको तामाङ समाज यूएईका पूर्व अध्यक्ष महेश मोक्तानले जानकारी दिए ।

समाजले तामाङ समुदायका सोनाम तामाङ, परेन्द्र मोक्तान, विजय घले सहित ३ जना जेहेन्दार विद्यालर्थीहरुलाई जनहि २० हजारका दरले नगद छात्रावृत्ति पनि प्रदान गरेको छ । त्यस्तै श्री उग्र्योन श्हाप्तेर फेल्ग्येन लिङ गोन्पालाई ५० हजार सहयोग हस्तान्तरण गरिएको छ । वैदेशिक रोजगारीको क्रममा यूएई पुगेका तामाङहरुको छाता संगठनको रुपमा क्रियाशिल यो संस्थाले शनिबार नै तामाङ स्रष्टाहरुलाई पनि सम्मान गरेको छ । समाजले नेपाल सरकारका पूर्व सचिव धन बहादुर तामाङ र गायिका इन्दिरा गोलेलाई भने नगद राशी सहितको प्रतिभा प्रोत्साहन सम्मान प्रदान गरेको छ ।

राज्यको प्रशासकिय क्षेत्रमार्फत योगदान गरेकोमा धनबहादुर तामाङ र विश्वसामु तामाङ गीत संगीत स्थापित गर्न योगदान पुर्याएको भन्दै इन्दिरा गोलेलाई नगद २० हजार,सम्मानपत्र,दोसल्लाद्धारा प्रतिभा प्रोत्साहन सम्मान प्रदान गरिएको समाजका कार्यकारी अध्यक्ष भिम दोङले बताए । समाजले आफ्नो स्थापना पश्चात अहिलेसम्म आयोजना गरेको ल्होछार,एसएमएस धमाका,शिक्षाका लागि समाज जस्ता कार्यक्रमहरुमा नेपालबाट गएर सांगीतिक प्रस्तुती दिएका कलाकारहरुलाई लेटर अफ अनर प्रदान गरेको छ ।

यूएईमा पहिलोपटक लहोछार कार्यक्रमको अवसरमा सांगीतिक प्रस्तुतीका लागि पुगेका रोज मोक्तानदेखि वरिष्ठ गायक, संगीतकार चन्द्रकुमार दोङका साथै इन्दिरा गोले, स्व. जयनन्द लामा (परिवारलाई),सञ्जिव वाइबा,विश्व दोङ, विशाल काल्तान, जमुना योञ्जन, इन्दिरा योञ्जन, तुलसा वाइबा, फूलकुमार बम्जन,सोनाम बज्यु,अविनाश घिसिङ,रोशन फ्युबा,निर्मला घिसिङ,गायिका स्वं. योगीता मोक्तान (परिवारलाई),शशिकला मोक्तान,जितु लोप्चन,रमला पाख्रिन, सानु वाइबा, सुरेश लामा, सायरा वाइबा, सुमिना लो, प्रदिप लामा, नम्रता सापकोटा सम्मलाई लेटर अफ अनर प्रदान गरेको हो ।

त्यस्तै तामाङ समाज युएईको संस्थागत विकासमा सञ्चार लगायतका क्षेत्रबाट सहयोग गरेको भन्दै पत्रकार अनिस दोङ तामाङलाई सम्मान गरेको छ । समाजले शर्मिला थिङ,लवाङ दोङलाई कदरपत्र प्रदान गरेको छ भने संस्थाको स्थापना,गतिशिलता,वृहत्तर विकासमा योगदान दिएका पूर्व अध्यक्ष,वर्तमान संरक्षक महेश मोक्तान लगायतका पूर्व अध्यक्ष एवं पदाधिकारीहरुलाई समेत सम्मान गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री लामाले तामाङ समुदायको विकासको मुख्य आधार शिक्षामा तामाङ समाज युएईले गर्दै आएको यस खालको रचनात्मक कार्यक्रमहरुप्रति खुसी व्यक्त गरे । समुदायको विकासका लागि आफ्नो तर्फबाट सदैव सहयोग रहने उनको प्रतिवद्धता थियो ।

अध्यक्ष जितेन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि पूर्व सांसद नविना लामा,जापानका लागि पूर्व राजदुत डा। गणेश योञ्जन,नेपाल सरकारका पूर्व सचिव धन बहादुर तामाङ,गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामा ,इन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्ष वंशलाल तामाङ,संस्थाका पूर्व अध्यक्ष किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्र बहादुर लामा,मातृभाषा शिक्षा अभियन्ता प्रतिक ङेसुर लगायतले तामाङ समाजको विकासमा जुट्न सबै एक हुनुपर्नेमा जोड दिएका थिए ।

तामाङ समुदाय शिक्षाको कारण सामाजिक साँस्कृतिक राजनीतिक र आर्थिक क्षेत्रमा पछाडि परेको ठहर गर्दै यूएईमा तामाङ समाज यूएईले लामो समयदेखि शिक्षाको लागि समाज लगायत विभिन्न जागरण मुलुक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.