१. पृष्ठभूमि
तामाङ समाजमा ‘गोने ङ्ह्य’ को अवधारणा कायम रहेको छ ।‘गोने’ ले एउटा महिनाको नाम साथै ‘ङ्ह्युले ’ पूर्णिमाु भन्ने अर्थ दिन्छ । यो पर्वकै दिन हिन्दूका जनै पूर्णिमा पनि पर्दछ । यो मासगत रूपमा साउन वा भदौमा पुग्ने गर्दछ । यसलाई तामाङले परम्परागत ज्ञान दिवसको रूपमा मान्दै आएका देखिन्छन् । परापूर्वदेखि मान्दै आएतापनि यो अवसरमा के– के गरिन्छन् ? कसरी मनाउने भन्ने सम्बन्धमा कतिपयलाई ज्ञात नभएको देखियो । कतिपयले त यस सम्बन्धमा स्पष्ट पार्न अनुरोध पनि गरेका छन्ः तसर्थ ‘गोने ङ्ह्य’ बारेमा केही स्थानका तामाङ समाजमा प्रचलित परम्परालाई प्रस्तुत् गर्ने प्रयास गरिएको छ । यो लेख सम्पूर्ण तामाङ समाजको अध्ययनबाट निकालिएको होइन । यहाँ नसमेटिएका सूचनाहरू यहाँहरूले दिन सक्नुहुनेछ । विशेषगरी यो लेख बोन÷बोम्बोसँग सम्बन्धित रहेको छ । लम (लामा)को पक्ष खासै उल्लेख गरिएको छैन । यसको अर्थ यो पर्व लमसँग जोडिएको छैन भन्ने होइन । लम सम्बन्धी प्रशस्त सामग्रीहरू पाइने हुनाले यहाँ उल्लेख गरेको छैन ।
‘गोने ङ्ह्य’ परम्परा कहिलेदेखि भएको थियो भन्ने प्रश्नको यकिन उत्तर दिन निकै गाह्रो छ । तैपनि, समाज विकासको क्रममा बोन मान्यताद्वारा यसको उद्विकास भएको मान्न कर लाग्छ । जब मानिसले पर्यावरणीय चक्रलाई चिन्न सक्ने भयोः तब बिस्तारै यसको उद्विकास क्रम चलेको सहज अनुमान लगाउन सकिन्छ । त्यतिबेलासम्ममा बोनको एक किसिमको विश्वदृष्टिकोण पनि बनिसकेको थियो । त्यही दृष्टिकोण र पर्यावरणीय वा ऋतु चक्रीय ज्ञानको संयोजनद्वारा यो पर्वको जन्म भएको भन्ने देखिएको छ । त्यहीँनेर अझै व्यवस्थित प्रस्तुतिका लागि अध्ययन, अनुसन्धानको पाटो खुल्ला रहेको छ । ‘पेठिम’ (कार्यविधिगत) रूपमा यहाँ चर्चा गरिएको छैन ।
२. गोने ङ्ह्य साथै तामाङ विश्वास
‘गोने ङ्ह्य’ सम्बन्धी धेरै ज्ञानहरू छन् । ती सबै संरक्षणको अभावमा थलिएका छन् । जानेर वा नजानेर अर्काको भन्दै फाल्ने क्रमले तामाङको पहिचान नै समस्यामा फस्दै गएको छ । यस्तो विषम् परिस्थितिबीच पनि २०७० सालदेखि लोकोत्तर लोकवादी विचार समूहले यो दिनलाई ‘तामाङ ज्ञान दिवस’ तथा तामाङ ज्ञानको दीक्षान्त समारोहको रूपमा मनाउँदै आएको छ । तामाङ ज्ञान महोत्सव तथा सम्मेलन उक्त अभियानको लक्ष्य रहेको थियो । भर्खरै काठमाडौंमा ‘तेस्रो तामाङ ज्ञान महोत्सव’ सम्पन्न भएको छ । यहाँ भने ‘गोने ङ्ह्य’ संस्कृतिलाई निम्नानुसार प्रस्तुत् गरिएको छ ।
क) गोने ङ्ह्य
‘गोने ल’ ठ्याक्कैमा साउन र भदौ महिनाको बीचौंबीचमा पर्दछ । यो मासको नाम कसरी ‘गोने’ रहन गएको थियो भन्ने प्रश्न उठ्न सक्छ । यसको बारेमा सर्वमान्य मान्यता स्थापित भएको पाइएको छैन । एकथरी विश्वास अनुसार ‘गो’ भन्नाले ‘ढोका’ हो । त्यस्तैगरी ‘ने’ को अर्थ ‘तीर्थ÷स्थल’ हुन्छ । यो मासमा देउताहरू गुफा बस्छन् । यही मासको पूर्णिमा तिथिको दिन भने गुफाबाट बाहिर आउँछन् । त्यसरी देउता गुफा बसेको स्थानको ढोका खोलिने हुँदा दर्शनका लागि पुग्छन् । यसैकारण महिनाको नाम पनि ‘गोने’ रहन गएको हो ।


