समुन्द्रको छालसंगै रमाउने म
नदीको गहिराईमा डुबुल्की मार्ने म
सूर्यको तापको कुनै प्रवाह नगर्ने म
मुसलधारे पानीमा रुझिएर प्रफुल्लित हुने म ।
आँधीको बेगसंगै दौडिने म
हुरीको तुफानलाई पछ्याउने म
बादलको कालो रुपसंग सम्बन्ध जोड्ने म
मेघको गर्जनले पनि नडराउने म ।
पिडामा नि मुसुक्क हाँस्ने म
मृत्युलाई सहजै स्वीकार गर्ने म
गरीब दुःखीको सेवामा सधै आतुर हुने म
सबैसंग मेलमिलापको भावना राख्ने म ।
चट्टान फोर्न तयार हुने म
पहाड धान्ने हिम्मत बोक्ने म
ज्वालामूखी फुटाएर माटो बनाउने सोँच राख्ने म
कठिन पथमा हिड्न जागर लगाउने म ।
युद्ध जित्ने प्रयत्न राख्ने म
देश विरुद्ध धावा बोल्ने माथी विद्रोह गरिहाल्ने म ।
– मिनु मोक्तान , रामेछाप

