जेठ १३, काठमाडौँ । नेपालमा हुने हरेक विपतका समय प्रवासमा रहने नेपालीहरुले सहयोग गर्दै आईरहेका छन् । २०७२ को भूकम्पा वा प्राकृतिक प्रकोप, दैवि प्रकोप तथा मानवीय स्वास्थ्य संकटको समय होस् प्रवासमा रहेका नेपालीहरुले आफ्नो पसिनाबाट कमाएको केही रकम जोहो गरी राहत स्वरुप सहयोग गर्दै आएको थुप्रै उदाहरण छन् । त्यस्तै कतारमा रहेका नेपालीहरुले केही साता पनि नेपाल सरकारलाई अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन् ।
पछिल्लो समय नेपालमा कोरोना दोस्रो चरणको लहर आएपछि गाउँ बस्ती बस्तीमा संक्रमित हुने विरामीको संख्या बढ्दै गएको छ । काभ्रे जिल्ला स्थित रोशी गाउँपालिकामा पनि कोरोना लक्षणका विरामी तथा धेरै संख्यामा कोरोना पोजिटिभ देखिएपछि गाउँका केही युवाहरुले आकस्मिक राहत कोष निर्माण गर्दै संक्रमित क्षेत्रका विरामीहरुलाई थप हौसला प्रदान गर्न र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउने आवश्यक औषधीजन्य सामाग्री वितरण अभियान सुरु गरेको छ ।
उक्त अभियानमा कतारमा रहेका सोही क्षेत्रका युवाहरुको सक्रियतामा आर्थिक सहयोग समेत गरेका छन् । जसमा कतारबाट समाजसेवी तथा नेपाल प्रवासी तामाङ समाज कतारका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार तिर्थ थिङ तामाङको नेतृत्वमा त्यहाँ रहेका नेपालीहरुबाट केही रकम उपलब्ध गराएको छ । ती समूहले व्यक्तिगत रुपमा सहयोग गरी जम्मा रु. २० हजार रुपियाँ नेपाल पठाएको छ । विपत तथा आकस्मिक राहत कोषको अभियानलाई सफल पार्न कतारमा कार्यरत संगम राउत, सत्यमान तामाङ, तिर्थ थिङ तामाङ, मिम लोप्चन, बिष्णु काफ्ले, अनिता लोप्चन , सम्झना लोप्चन , बुद्ध लामा र समीर बल लगायतले सहयोग गरेको तिर्थ थिङले जानकारी दिए ।
निषेधाज्ञाको समय औषधी नपाएर समस्यामा परेका विरामीहरुको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै आवश्यक रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधी जुटाउन आफुहरुले सहयोग गरेको तिर्थ तामाङले बताए । यस अघि पनि स्वास्थ्य शिविर तथा थुप्रै सामाजिक तथा साँस्कृतिक कार्यक्रममा सहयोग गर्दै आएको छ । रोशी गाउँपालिकामा थप स्वास्थ्य संकट आउनबाट बचाउन नेपालबाट अभियान सञ्चालन गरेका प्रारम्भ खबरका सम्पादक भिम लामा, अर्जुन लामा र निरबहादुर लामालाई सो रकम उपलब्ध गराउँदै आगामी दिनहरुमा पनि सहयोग गर्ने वाचा गरेका छन् ।
पहिलो चरणमा रोशी गाउँपालिका वडा नं. ३ मा रहेका विरामीहरुलाई भिटामिन, क्याल्सियम, सिटामोल, डिकोल्ड, माक्स, सेनीटाईजर लगायत सामाग्री वितरण गरेको छ । अर्को चरणमा दीर्घकालीन रुपमा औषधी सेवन गरेकाहरुलाई निषेधाज्ञाका कारण समस्या भएको अवस्थामा सहयोग गर्ने र अपतमा परेका गाउँलेहरुको सहयोगमा लाग्ने अभियान तिब्र रुपमा अगाडी बढाएको बताएको छ ।

