बैशाख १६, एजेन्सी । अस्ट्रेलियन क्रिकेटर क्रिस लिनले आफ्नो देशमा हुने टी–ट्वान्टी विश्वकप क्रिकेट स्थगित गर्नु पर्ने बताएका छन् । उनले पूर्व निर्धारित कार्यक्रम अनुसार टी–ट्वान्टी विश्वकप क्रिकेट नहुनु पर्ने धारणा राखेका हुन् ।
उनले विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेका बेला विश्वकपको पर्खाइमा बस्नु नराम्रो सपना देखेजस्तै भएको बताए । ३० वर्षीय ब्याट्सम्यान लिनले सम्बन्धित निकायले संकटको भयावहलाई बुझ्नु पर्नेसमेत जानकारी दिए ।
“टी–ट्वान्टी विश्वकपका बारेमा सम्बन्धित निकायले चाँडै सोच्न जरुरी छ । भयावहको अवस्थामा प्रतियोगिता आयोजना गरे दुनियाभरका लाखौं मानिसको जीवनमा खतरा हुन सक्छ,” लिनले भने, “म प्राथना गर्छु कि प्रतियोगिताको आयोजना होस् । तर, हामीले त्यसको सामना गर्न सक्नुपर्छ जुन स्थिति हाम्रो अगाडि छ ।”
उनले थपे, “विश्वभरबाट अस्ट्रेलियामा टिमहरू बोलाउनु एक नराम्रो सपना हुनेछ । किनकि यो अवस्थामा होटेल, यात्रा र प्रतियोगिता व्यवस्थापनका लागि मुस्किल पर्नेछ । क्रिकेट हेर्न आउने समर्थकको चाप त्यस्तै हुनेछ ।” टी–ट्वान्टी विश्वकप अस्ट्रेलियामा १८ अक्टोबरदेखि १५ नोभेम्बसम्म आयोजना हुने तय भएको छ ।

