प्रारम्भ खबर ।
असार १४, काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले विकासे बजेट सकाउनका लागि गोकर्णको जगडोलमा निर्माणाधीन रहेको शहिद तथा शान्ति पार्क स्मारकमा सिसि क्यामेरा जडान गरिएको छ ।
विगत ८ वर्ष अघिदेखि निर्माण सुरु गरेको पार्कको नेतृत्वमा लापरवाही र चरम अनिमियतता गरेको भन्दै सहरी विकास मन्त्रालयले मन्त्री स्तरीय बैठकबाट अध्यक्ष सुर्दशन सिग्देल लगायत सबै पदाधिकारीहरुलाई बर्खास्त गरिएको छ । समितिबाट बर्खास्त गराईसकेपछि नयाँ समिति गठन नभएसम्मका लागि सहरी विकास तथा भवन निर्माण विभागलाई नेतृत्वको जिम्मेवारी दिइएको छ । गत असार ४ गते शहरी विकास मन्त्रालयले सूचना प्रकाशित गर्दै पार्क व्यवस्थापन समिति खारेज भई उक्त पार्क उद्यान विकास तथा व्यवस्थापन कार्यविधि २०७५ को व्यवस्थाअनुसार गरिने हुँदा अब उप्रान्त साविकको पार्क निर्माण तथा व्यवस्थापन समिति मार्फत कुनै पनि काम–काज नगर्न भनिए पनि पछिल्लो समयसम्म गैरजिम्मेवारी गतिविधिहरु सञ्चालनमा आईरहेको पार्क निकट स्रोतहरुले बताएका छन् ।

नेपाल सरकार शहरी विकास मन्त्रालयले प्रत्यक्ष सरोकार र नियन्त्रण गर्दै आएको राष्ट्रिय शहीद पार्कमा गोकर्णेश्वर नगरपालिकाको आर्थिक तथा नैतिक सहयोगमा ५०–६० रोपनी उत्तरी भिर पाखोमा केही सिमित व्यक्तिको स्वार्थ र सिफारीसमा मेयर सन्तोष चालिसे निकट कार्यकर्ताको संयोजनमा रु पाँच लाख बराबरको सिसि क्यामेरा जडान गरिएको खुल्न आएको छ । व्यक्तिले पार्कको गतिविधी नियन्त्रण गर्ने नाममा जगडोलवासीको व्यक्तिगत सूचना राख्ने अधिकारलाई कुण्ठित गर्न टोलबासीसंग छलफल नगराई क्यामेरा राखेको भन्दै स्थानीय टोलबासी आक्रोसित छन् । गोकर्णेस्वर नगरपालिकाले आवश्यकता र अध्ययनविना नै अधिकार विहिन संस्थामार्फत आफ्ना कार्यकर्ता भर्ना गर्न जथाभावी रकम निकासी गरी संघीय सरकारको स्वामीत्वमाथी हस्तक्षेप गरेर लोकतन्त्रको उपहास र मन्त्रालयको आदेश समेत वेवास्ता गरी पार्क परीसरको दुरुपयोग गरेको आरोप लगाइएको छ । कुनै व्यक्तिले वा दलले नागरीक स्वतन्त्रतामा निग्रानी राखी सूचना प्रवाह गराएकोमा जगडोल वासीको ध्यानाकर्षण समेत छ ।
उक्त गैरजिम्मेवारी र अधिकारक्षेत्रभन्दा बाहिर रहेर कसैले पनि काम नगर्न आग्रह गर्दै तत्काल त्यसप्रकारका गलत गतिविधि रोक्न सम्बन्धित निकायलाई समेत टोलबासीको ध्यानाकर्षण छ । तथापी जडित सिसि क्यामेराको उद्घाटन असार १५ गते गर्ने तयारी समेत रहेको जानकारी बाहिरिएको छ ।
गोकर्ण सहिद पार्क गुमनाममा, को–को छन् अध्यक्ष बन्ने दौडधुपमा ?

