प्रारम्भ खबर ।
असार ५, काठमाडौँ । काठमाडौंको गोकर्णमा निर्माणधिन रहेको राष्ट्रिय गौरवको आयोजना समेत परेको राष्ट्रिय शहिद तथा शान्ति पार्क (स्मारक) गुमनाममा परेको छ ।
बजेट विनियोजन भएको मितिले दुई वर्षमा सम्पन्न हुनुपर्ने उक्त पार्क ८ वर्ष बितेपनी निर्माण कार्य सम्पन्न हुन सकेको छैन । करिव ४७ करोड लागतमा बन्नुपर्ने त्यस पार्कमा तत्कालीन शान्ती तथा पुनःनिर्माण मन्त्रालय र पार्क व्यवस्थापन समितिको लापरबाहीले निमार्ण कार्य ढिला भएको पछिल्लो घटनाक्रमले देखाएको छ । तत्कालिन शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्र्तगत द्धोन्दत्तोर शान्ति तथा पुननिर्माण परियोजनाबाट मन्त्रालयकै नेतृत्व परियोजनामा रहेको उक्त निर्माण कार्य ठेक्का पाएका निर्माण कम्पनीहरुले ३५ प्रतिशत विलोमा काम गर्न सम्झौता गरेर बिचल्ली पारेको छ । बनिसकेको संरचना समेत जीर्ण बनिरहेको अवस्थामा २ पटक पार्क व्यवस्थापन समितिका अध्यक्ष बनिसकेका सुदर्शन सिग्देलको टिमलाई वर्तमान सहरी विकास मन्त्रालयले विदाई गरेपछि झन थप समस्य आएको छ ।
गत जेठ १० गते मन्त्रालयको निर्णयबाट सुदर्शन सिग्देललाई बर्खास्ती गरेपछी सिग्देलले पुनः पार्कको अस्तित्वमा नै धराप पार्ने गतिविधि सञ्चालन गर्दै आईरहेको स्थानीयहरुको आरोप छ । पार्कको नामबाट उठाउदै आइरहेको प्रवेश शुल्क समेत अन्य संस्थाको रशिद बनाई रकम असुली गरिहेका छन् । पार्क समिती नै भङ्ग भैसकेको अवस्थामा उठाईएको रकमको गलत तरिकाले प्रयोग गर्दै आईरहेको पार्क निकट व्यक्तिहरुले बताउदै आएका छन् । बर्खास्ती सिग्देल सामुदायिक वनको नाम लिदै अध्यक्षको हैसियतले कार्य सम्पादन गर्दै आईरहेको पनि स्थानीयको आरोप छ ।

शहरी विकास मन्त्रालय सिंहदरबारबाट मिति २०७६ जेठ ३० गते राष्ट्रिय शहिद तथा शान्ति पार्क (स्मारक) व्यवस्थापन सम्बन्धि सूचना सार्वजनिक गर्दै तत्कालिन समितिका पदाधिकारीहरुलाई मन्त्रालयले स–धन्यवादसहित विदा गर्ने र उक्त समितिबाट गरिआएका कार्यहरु नयाँ समिति गठन नभएसम्मका लागि सहरी विकास तथा भवन निर्माण विभागबाट कार्य सञ्चालन गर्ने निर्णय समेत सूचनामा प्रकाशित छ । तर पार्क क्षेत्र भने यज्ञडोल सामुदायिक बनको नामबाट गतिविधि सञ्चालन भईरहेको छ । राष्ट्रिय गौरवकै आयोजना समेत रहेको बर्खास्ती अध्यक्ष सिग्देलले पार्कलाई छायाँमा पार्ने कार्य गरिरहेको पार्क क्षेत्रका स्थानीयहरुको भनाई छ । सहरी विकास मन्त्रालयले पार्कको कामकाज गर्ने सम्पूर्ण जिम्मा सहरी विकास तथा भवन निर्माण विभागलाई दिएपनि विभागका व्यक्तिहरु भने अनुगमनमा समेत नआएको स्रोतको भनाई छ । तथापी स्वीकृति विना पार्क वरीपरी विभिन्न होडिङ बोर्ड राखी पार्कको अस्तित्वमाथी नै प्रश्न चिन्ह खडा हुने गतिविधि सञ्चालन भईरहेको छ ।
पार्क व्यवस्थापन समिति नै भङ्ग भएपछि मन्त्रालयले नयाँ समिति गठनका लागि आदेश र टिप्पणी समेत उठाइएको छ । उक्त टिप्पणीमा आवास शाखालाई सम्बोधन गर्दै सहरी विकास मन्त्रालयका प्रवक्ताले साविकको शहिद तथा शान्ति पार्क व्यवस्थापन समितिको नयाँ संरचना स्वरुप कस्तो हुने भनि रायसहित पेश गर्न आदेश गरेको छ । टिप्पणीबाट आएको रायलाई आधार बनाई नयाँ समितिको संरचनाको स्वरुप निर्धारण गरिएको छ ।
नयाँ संरचनाको स्वरुप यस्तो हुनेछ
साविकको शहिद तथा शान्ति पार्क व्यवस्थापन समितिको नयाँ संरचनाको स्वरुप यस प्रकार छ ।
१. सहरी विकास मन्त्रालयको माननीय मन्त्रीबाट मनोनीत– अध्यक्ष
२. सहरी विकास मन्त्रालय, भवन,आवास तथा योजना महाशाखा प्रमुख –सदस्य
३. अर्थ मन्त्रालयको प्रतिनिधि –सदस्य
४. बन तथा वातावरण मन्त्रालयको प्रतिनिध–सदस्य
५. संस्कृति, पर्यटन तथा नागरिक उडड्यान मन्त्रालयको प्रतिनिधि– सदस्य
६. सम्बन्धित नगरपालिकाको प्रतिनिधि– सदस्य
७. शहरी विकास तथा भवन निर्माण विभाग, शहरी वातावरण शाखा प्रमुख – सदस्य सचिव रहने व्यवस्था गरिएको उल्लेख भएको छ । साविकको समितिमा रहेका पदाधिकारीहरु नेपाल सरकार मन्त्रीपरिषदकोे २०७५÷३÷२०को निर्णयानुसार अस्तित्वमा नरहेको भन्दै २०७६ जेठ ९ गते मन्त्रालयमा भएको निणयले हटाइएको छ ।
समिति विहिन राष्ट्रिय शहिद पार्क
०७६ जेठ ९ को मन्त्रीस्तरको निर्णयबाट पार्क समितिका पदाधिकारीहरुलाई हटाएपछि अहिले समिति विहिन बनेको छ । तत्कालको लागि कामकाज गर्न मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभागलाई जिम्मेवारी दिएपनि गोकर्णमा रहेको पार्क सचिवालय समितिको कार्यालयमा कुनै पनि प्रतिनिधि उपस्थित हुन सकिरहेको छैन् । औन्योलपूर्ण वातावरणमा काम गर्न मन्त्रालयले विभागलाई तोकिए पनि वस्तुगत काम भने हुन सकिरहेको छैन् । तथापी तीनै हटाइएको भनिएका अध्यक्ष सिग्देल भने पार्क समितिको अध्यक्षकै हैसियतले कुर्सीमा बसिरहेका छन् ।
अध्यक्ष बन्न दौडधुप
समितिका अध्यक्ष लगायत पदाधिकारीहरु हटाइएपछि नयाँ समितिका लागि अध्यक्ष बन्न विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु दौडधुपमा छन् । नेकपाबाट छिरिङ दोर्जे तामाङ र तुल्सी पौडेल अध्यक्ष बन्न फ्रन्टलाईनमै आएको बुझिन्छ । पूर्व पदाधिकारीहरुकै प्रयासबाट भने समितिकै सदस्य समेत रहेका गोविन्दबहादुर श्रेष्ठलाई अध्यक्ष बन्न अघि सारेको सुन्न आएको छ । समितिभित्रै रहेर काम गरिसकेका राजेशकुमार सिजापति पनि अध्यक्ष बन्ने लाईनमै छन् । त्यस्तै स्थानीय तथा पार्क क्षेत्रकै बासिन्दा रामराजा गौतम पनि नयाँ संरचना स्वरुप बनेका कार्य समितिका अध्यक्ष बन्न अग्रसर देखिन्छन् । दुई कार्यकाल पद सम्हालेर चित्तबुझ्दो काम नगरेको भनि बर्खास्ती भएका सुर्दशन सिग्देल पनि पुनः आफु अध्यक्ष बन्नमै लालयित छन् ।
सहरी विकास मन्त्रालयका मन्त्री मोहम्मद इश्तियाक राई भने समाजवादी पार्टी नेपालबाट प्रतिनिधित्व गरेका छन् । नयाँ संरचनाअनुरुप मन्त्रीबाट मनोनीत व्यक्ति नै अध्यक्ष हुने भनिएको छ । सोही मन्त्रीकै पार्टीबाट पनि डा. गणेश योञ्जन र आङकाजी शेर्पाको पनि अध्यक्षको लागि नाम चर्चामा रहेको छ ।
पार्क जानकारहरु भन्छन्– राजनीतिक नियुक्तिभन्दा दक्ष, अनुभवी योग्यताका आधारमा अध्यक्ष छनौट गर्नुपर्ने र अधिकार सम्पन्न समिति नबनाईसम्म पार्कको निर्माणाधीन रहेको संरचना समेत बन्न मुस्किल छ । यसै विषयमा प्रारम्भ खबरले मन्त्रालयमा बुझ्दा नयाँ समिति आउन कार्यविधि बनाउनुपर्ने भएर केही समय लाग्ने बताएको छ । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार नयाँ समिति नआएसम्मका लागि गोकर्ण शहिद तथा शान्ति पार्क (स्मारक) को सम्पूर्ण जिम्मेवारी सहरी विकास तथा भवन निर्माण विभागलाई दिइएको छ । सुर्दशन सिग्देलको नेतृत्वमा रहेको पार्क व्यवस्थापन समितिभित्र आर्थिक तथा पारदर्शीता नभएको भन्दै छानविन समिति बनाएर कारवाहीको दायरामा ल्याउने मन्त्रालयले बताएको छ । सिग्दलले समिति नै खारेजी भएपछि पार्कको अस्तित्व लोप हुने गतिविधि गर्दै आइरहेको भन्दै त्यस विषयमा मन्त्रालयले गम्भीर रुपमा अध्ययन गरिरहेको बताए ।

