फागुन २८, काठमाडौं । संयुक्त राष्ट्रसंघीय महिलाको अवस्था सम्बन्धी आयोगको ६३ औ अधिवेशनको उच्चस्तरीय सम्मेलनमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका पुगेकी छन् ।
उनलाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाकालागि नेपालका राजदूत डा अर्जुन कार्की र संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि अमृतकुमार राईले स्वागत गरेका थिए । राष्ट्रपति भण्डारी संयुक्त राष्ट्रसंघको ७३औँ महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले सोमबार साँझ आयोजना गरेको रात्रिभोजमा समेत सामेल भएकी थिइन् ।
राष्ट्रसंघको प्रधान कार्यालयमा सोमबारदेखि शुरु भएको अधिवेशनका क्रममा राष्ट्रपति भण्डारीले आज हुने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपालको स्थायी प्रतिनिधिको कार्यालयले जनाएको छ । नारी नेत्रीले ‘विश्वलाई कसरी परिवर्तन गर्छन’ भन्ने विषयमा राष्ट्रपतिले मन्तव्य दिने कार्यक्रम रहेको जनाइएको छ । राष्ट्रपतिले समसामयिक विश्वका चुनौतीलाई सामना गर्न नारी नेतृत्वको महत्व र आवश्यकतामा केन्द्रीत रहेर मन्तव्य दिने कार्यक्रम रहेको स्थायी प्रतिनिधिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडा तथा राष्ट्रपतिको कार्यालय, परराष्ट्र मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी रहेका छन् ।

