हस्तकलाको सीपले आत्मनिर्भर

big bite restro

फागुन १८, पाल्पा । पाल्पा जिल्ला बगनासकाली गाउँपालिका बराङदीकी तुलसी गैरेको तानसेन मेहलधारामा हस्तकला केन्द्र सञ्चालनमा छ । त्यहाँ उहाँ क्रिष्टल माला, औठी, टप, चुरा, गुडिया तथा खेलौना बनाउनुहुन्छ ।

श्रम र पसिना खर्चेर दुई चार पैसा कमाउन सकिने अनुभव उहाँले सुनाउनुभयो । गैरे हस्तकलाका उत्पादित सामाग्री बिक्री गरेर केही पैसा कमाउन सफल हुनुभएको छ । यसबाट आत्मनिर्भर बनेपछि सन्तृष्टि मिलेको गैरेको भनाइ छ । विसं २०५९ मा बगनासकाली गाउँपालिका पोखराथोककी १८ वर्षीया गैरे र बराङ्दीका २१ वर्षीय दीपक घिमिरे बीच विवाह भयो । विवाहको पाँच वर्षपछि गैरेले जीवनसाथी दीपकलाई गुमाउनु पर्दा ठूलो पीडा भयो । श्रीमान् गुमाउनुपर्दा साहाराविहीन मात्र होइन पारिवारिक समस्याकोसमेत चाङ लाग्यो । समस्यामाझ शिक्षण पेशा रोज्न बाध्य हुनुप¥यो । छोरासाथ तानसेनमा बस्नुभएकी गैरेका लागि छोरा र विद्यालय दुवैतर्फ समय निकाल्न निकै मुस्किल भयो । अहिले नौ वर्षको शिक्षण पेशा छाडेर उहाँ हस्तकला व्यवसायमा रमाउनुभएको छ ।

बिहानको समयमा छोराको पढाइलेखाइमा ध्यान दिन भ्याउनुहुन्छ भने दिउँसोमा हस्तकला केन्द्रको व्यवस्थापनमा खटनुहुन्छ । छोरा आदर्श कक्षा ८ मा अध्ययनरत छन् । आजकल घरमा सजावटकारुपमा गुडिया तथा खेलौनाको प्रयोग गर्नेक्रम बढ्दो छ । क्रिष्टल माला, औठी, टप, चुरा खोज्नेहरु तानसेनको मेहल्धाराको तुलसी हस्तकला धाउँछन् । हस्तकला सञ्चालनपछि मासिक रु २५ हजार कमाई हुने गैरेको भनाइ थियो । हस्तकलाबाट समान बेच्ने र पैसा कमाउने मात्र गैरेको उद्देश्य होइन । अन्य एकल महिलालाई पनि रोजगार र स्वरोजगार बनाउने उहाँको चाहना छ । “आफूले जानेको हस्तकलाको सीप अरु महिलालाई पनि बाँड्न तयार छु, आफूजस्तै एकल महिलालाई सक्षम बनाउन प्रशिक्षण सञ्चालनमा समय निकाल्छु, तालीम चलाउन गाउँगाउँमा पुग्छ”,तुलसीले भन्नुभयो । हालसम्म १५० एकल तथा अन्य महिलालाई तालीम दिइएको उहाँको भनाइ थियो ।

“केहीलाई आफूले जानेको सीप सिकाउन र अन्य महिला पनि आत्मनिर्भर होउन भनेर हस्तकला प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको हो”, तुलसीले भन्नुभयो । सस्तो र राम्रो पनि हुने भएकाले अधिकांश महिलाको क्रिष्टल सामाग्रीप्रति आकर्षण बढेको पाइन्छ । बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हस्तकला सिकाउन व्यस्त गैरे सामाजिक रूपमा एकल महिलाका हकअधिकार सुनिश्चितताका लागि आवाज उठाउने निडर महिलाका रुपमा परिचित हुनुहुन्छ । मानवअधिकारका लागि एकल महिला समूह पाल्पाको अध्यक्ष, मानवअधिकार तथा शान्ति समाजमा सहसचिव तथा राष्ट्रसेविका नेपाल अञ्चल संयोजकमा रहेर भूमिका निभाउन उहाँ सफल हुनुहुन्छ । –रासस

सम्बन्धित समाचार