राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभा माविलाई

पुस २८, म्याग्दी। अन्नपूर्ण गाउँपालिकाको आयोजनामा दानास्थित ज्ञानप्रकाश माविमा शुक्रबार सम्पन्न अन्तर माध्यमिक छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिता २०७५को उपाधि नारच्याङको प्रभा माविले जितेको छ । भलिबल, एथलेटिक्स र कबड्डी बिधाका ३० खेलमा २१७ अङ्क जोडेर प्रभा माविले राष्ट्रपति रनिङ शिल्ड, कप र पदकसहित रु पचास हजार नगद पुरस्कार हात पारेको छ ।

एकसय ५४ अङ्कसहित उपविजेता भएको मुक्तिमार्ग मावि घारले कप, पदक सहित रु २५ हजार तथा ११६ अङ्कसहित तेस्रो स्थानमा चित्त बुझाएको टिकोट मावि हिस्तानले कप र पदकसहित रु १५ हजार पुरस्कार प्राप्त गरेको स्रोतव्यक्ति भरत पुनले जानकारी दिनुभयो । मङ्गलबारदेखि शुरु भएको प्रतियोगितामा १० विद्यालयले सहभागिता जनाएका थिए ।

विजेता खेलाडी तथा विद्यालयलाई जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, प्रतियोगिताका संयोजक तथा कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामी, प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेल, जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख दलबहादुर थापाले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा कबड्डीमा प्रभा माविकी गीता थजाली, सर्वोदय माविका रोजन जोहारचन, भलिबलमा ज्ञानप्रकाश माविका निशान पुर्जा र शिख माविका दुर्गा पाइजा, एथलेटिक्समा तीन स्वर्णपदक जितेका हिमाञ्चल माविका खेमबहादुर खोरजा र टिकोट माविका वर्षा फगामीले उत्कृष्ट खेलाडीको उपाधि जितेका थिए । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.