पुस १६, बीबीसी । बङ्गलादेशका तेज बलर मसरफे मुर्तजाले चुनावी मैदानमा आफ्नो उम्मेदवारीलाई ‘क्लिन बोल्ड’ गरेका छन् ।
अवामी लिगका तर्फबाट निर्वाचनको मैदानमा उत्रिएका मुर्तजाले प्रतिद्वन्द्वीलाई अढाइ लाखभन्दा बढी मतले पराजित गरेका हुन् । नारायल–२बाट उम्मेदवारी दिएका उनले दुई लाख ७१ हजारभन्दा बढी मत पाए । जातीय ओइक्यो फ्रन्ट गठबन्धनका उम्मेदवार फरिदुज्जमा फरहादलाई केवल सात हजार आठ सय ३३ भोट प्राप्त भयो । डिसेम्बर ९ मा वेस्ट इन्डिजका विरुद्ध सुरु भएको तीन म्याचको वानडे सिरिजभन्दा पहिला नै मुर्तजाले आफू चुनाव लड्ने बताएका थिए । साथै, उनले विश्वकप २०१९ पछि भने क्रिकेटबाट सन्यास लिने सङ्केत पनि गरेका थिए । गत नोभेम्बरमा उनले आफ्नो फेसबुक पेजमा आफूलाई राजनीतिप्रति सधैँ चासो रहेको उल्लेख गरेका थिए । उनले भनेका थिए, ‘राजनीतिबिना देश विकास सम्भव छैन । मलाई देश विकासका लागि केही गर्ने अवसर मिल्दै गएको छ ।’
झण्डै डेढ महिनाअघि नै फेसबुकमा उनले २०१९ को विश्वकपपछि के गर्ने भन्नेबारे सङ्केत दिएका थिए । आफ्नो प्राथमिकता देशका निम्ति विश्वकप क्रिकेट खेल्ने र प्रधानमन्त्री शेख हसिनासँगै लागेर देश विकासमा योगदान गर्ने उनको चाहना निर्वाचनको उत्साहजनक परिणामले साकार पार्ने देखिएको छ । बङ्गलादेशमा क्रिकेट खेलाडी सांसद भएको पहिलो घटना भने यो होइन । अन्य क्रिकेट खेलाडी पनि सांसद बनेका छन् । यसअघि क्रिकेट खेलाडी नइमुर रहमान दुरजाय पहिलोपटक सांसद बनिसकेका छन् । बङ्गलादेशमा प्रधानमन्त्री शेख हसिनाको दल अवामी लिगले आमनिर्वाचनमा एकतर्फी जित हासिल गरेको छ । आइतबार सम्पन्न निर्वाचनमा ३५० संसदीय सिटमध्ये अवामी लिगले २८१ सिटमा जितेको छ । मुर्तजा सोही दलबाट उम्मेदवार बनेका थिए ।

