काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेसँग मिलेर जाने सहमति भइसकेको बताएका छन् ।
गोरखा पुगेका प्रचण्डले एमालेसहित अन्य कम्युनिस्ट घटकसँग पनि राजनीतिक सहकार्य अघि बढाउने बताएका हुन् । उनले सदन र सडक दुवै ठाउँमा मिलेर संघर्ष गर्ने सहमति भएको उल्लेख गर्दै स्थानीय र प्रदेश निर्वाचनमा समेत संयुक्त रूपमा अघि बढ्ने नीतिगत निर्णय भइसकेको जानकारी दिए ।
प्रचण्डले सहकार्यलाई निर्वाचनमा मात्र सीमित नराखी कम्युनिस्ट पार्टीहरूबीच एकता गरेर एउटै राजनीतिक केन्द्र निर्माण गर्ने प्रयास भइरहेको पनि बताए । त्यसका लागि एमालेसहित विभिन्न कम्युनिस्ट घटकसँग निरन्तर संवाद भइरहेको उनको भनाइ छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एकताको आवश्यकता बुझाउन सहज नभए पनि देशको राजनीतिक परिस्थिति बदल्न सहकार्य आवश्यक रहेको प्रचण्डले बताए ।
उनले नेपाली कांग्रेससहित संविधानसभा र शान्ति प्रक्रियामा सहभागी राजनीतिक शक्तिसँग पनि संवाद भइरहेको जानकारी दिए । मधेस केन्द्रित दलहरूसँग समेत संविधान, गणतन्त्र, समावेशिता र संघीयताको रक्षाका लागि साझा मोर्चा बनाउने विषयमा सकारात्मक छलफल भइरहेको उनले बताए ।
प्रचण्डले कम्युनिस्ट शक्तिहरूबीचको एकता र अन्य राजनीतिक दलसँगको सहकार्यलाई राष्ट्रिय राजनीतिक स्थायित्व र समाजवादको दिशामा अघि बढ्ने आधारका रूपमा प्रस्तुत गरेका छन् ।

