ट्राफिक व्यवस्थापन सुधार्न नागरिकका गुनासा सुन्दै ट्राफिक प्रहरी

— विमलबहादुर विष्ट, (रासस)

काठमाडौँ, ५ मङ्सिर : काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउँदै सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नागरिकका गुनासा तथा सुझाव संकलन गरिएको छ ।

ट्राफिक प्रहरी प्रभाग गौशाला र काठमाडौँ महानगरपालिका वडा नं. ९ को संयुक्त आयोजनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत एकदिने नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्थानीयवासी, विद्यार्थी तथा नागरिक समाजका प्रतिनिधिले उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएका विभिन्न समस्या उठाउँदै सुधारका लागि ट्राफिक प्रहरीको ध्यानाकर्षण गराएका थिए ।

उनीहरूले पैदलयात्रीले जेब्रा क्रसिङबाट बाटो काट्दा पनि सवारीसाधन नरोक्ने, सार्वजनिक यातायातमा महिला यात्रुमाथि दुर्व्यवहार हुने, चर्को आवाज निकाल्ने गरी विद्यालय क्षेत्रमा दुईपाङ्ग्रे सवारीसाधन चलाउने तथा निर्धारित स्थानबाहिर यात्रु चढाउने र ओराल्ने प्रवृत्ति बढेको भन्दै गुनासो गरेका थिए ।

कार्यक्रममा नागरिकका प्रश्न तथा गुनासाको जवाफ दिँदै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले ट्राफिक व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न ट्राफिक प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले नागरिकबाट प्राप्त सुझाव र गुनासामध्ये तत्काल सम्बोधन गर्न सकिने काम तत्कालै सुरु गरिने र समय लाग्ने विषयलाई योजनाबद्ध रूपमा समाधान गरिने स्पष्ट पार्नुभयो ।

सार्वजनिक यातायातमा महिला यात्रुमाथि दुर्व्यवहार गर्ने जोकोहीलाई कानुनी कारबाहीको दायरामा ल्याइने उल्लेख गर्दै उहाँले यात्रुको सुरक्षा र सम्मान सुनिश्चित गर्नु ट्राफिक प्रहरीको प्राथमिकता रहेको बताउनुभयो ।

उपत्यकाको सवारी आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन एकीकृत स्मार्ट ट्राफिक व्यवस्थापन प्रणाली लागू गर्ने विषयमा अध्ययन तथा समन्वय भइरहेको जानकारी दिँदै एसएसपी काफ्लेले उक्त प्रणाली कार्यान्वयनमा आएपछि एआई प्रविधिमा आधारित स्मार्ट क्यामेरामार्फत सवारी आवागमनको निगरानी तथा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गरिने बताउनुभयो ।

त्यसैगरी, काठमाडौँ उपत्यकालाई ध्वनि प्रदूषणमुक्त बनाउने अभियानअन्तर्गत ट्राफिक प्रहरी सक्रिय रूपमा परिचालित भइरहेको उहाँले जानकारी दिनुभयो । चर्को आवाज निकाल्ने तथा मापदण्डविपरीत स्वरूप परिवर्तन (मोडिफाइ) गरिएका सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कारबाही भइरहेको उहाँको भनाइ थियो ।

एसएसपी काफ्लेले गौशाला, चाबहिल, विमानस्थल, तीनकुने र जयबागेश्वरीलगायत क्षेत्रमा देखिएका अव्यवस्थित सवारी पार्किङ तथा ट्राफिक चिह्नसम्बन्धी समस्या समाधान गर्न मातहतका निकायलाई निर्देशनसमेत दिनुभएको थियो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष विमलकुमार होडा र वडा नं. ८ का वडाध्यक्ष आशामान सङ्गतले आ–आफ्नो वडाको ट्राफिक व्यवस्थापन सुधारका लागि आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा जनप्रतिनिधि, ट्राफिक प्रहरी उपरीक्षक नरेशराज सुवेदी, ट्राफिक प्रहरी अधिकारी, वडा कार्यालयका कर्मचारी, विभिन्न विद्यालयका विद्यार्थी, स्थानीयवासी तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता रहेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.