सुर्खेत, ६ कात्तिक । जिल्ला प्रहरी कार्यालय सुर्खेतले असोज महिनामा ७१ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी ठाकुरप्रसाद पोखरेलका अनुसार एक महिनाको अवधिमा कार्यालयमा ७२ वटा मुद्दा दर्ता हुँदा ७१ जना पक्राउ परेका हुन्।
‘७२ वटा मुद्दा दर्ता भएकोमा ४४ वटा फछ्र्यौट भइसकेका छन्। यी मुद्दामा ६० पुरुष, ४ महिला र ७ जना बालकलाई पक्राउ गरिएको हो,’ उनले भने, ‘त्यसका अलावा ४ पुरुष र एक महिला फरार रहेका छन्।’
जिल्ला प्रहरी कार्यालयमा यस अवधिमा ३१२ वटा ठाडो उजुरी परेकोमा सबै उजुरी फछ्र्यौट गरिएको एसपी पोखरेलले जानकारी दिए। यस्तै, लागूऔषधअन्तर्गत कार्यालयले १५ वटा मुद्दा दर्ता गरी २३ जनालाई पक्राउ गरेको छ।
‘३५ ग्राम १४ मिलिग्राम खैरो हेरोइन, मनोपोषक (मनोद्दीपक) पदार्थजस्तो देखिने १५ ट्याब्लेट, हरियो रङको २७ क्याप्सुल, सेतो रङको २२ गरी ६४ ट्याब्लेट बरामद भएको छ,’ एसपी पोखरेलले भने, ‘नाइट्राजेपाम ५० ट्याब्लेट र ट्रामाडोल १७६ वटा बरामद गरिएको हो।’
यसैगरी, जिल्ला ट्राफिक प्रहरी कार्यालयले यस अवधिमा सात लाख ३९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ भने ८१० वटा सवारीसाधनलाई कारबाही गरिएको छ।

