भोटेकोशी बाढीपीडितका लागि गोकर्णेश्वरको राहत कोषमा आर्थिक सहयोग जम्मा

भदौ १८, काठमाडौँ। रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत पु¥याउने उद्देश्यले गोकर्णेश्वर नगरपालिकाद्वारा स्थापना गरेको राहत कोषमा नगरपालिकाभित्रका विभिन्न संघसंस्था, व्यक्ति तथा महिला समूहहरूले आर्थिक सहयोग जम्मा गरेका छन् ।

सो क्रममा निसान संस्थाको समन्वयमा गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्रका विभिन्न विद्यालयले विद्यार्थी, अभिभावक र विद्यालय परिवारबाट संकलन गरेको चेक तथा नगद रकम नगर प्रमुख दीपककुमार रिसाल र उपप्रमुख सान्नानी लामा समक्ष हस्तान्तरण गरेका छन् । राहत कोषमा सहयोग गर्ने शैक्षिक संस्थाहरूमा गोकर्णेश्वर लाइट एकेडेमी, लिटल बर्ड सेकेन्डरी स्कुल, लिबर्टी एकेडेमी, जीवनतारा एकेडेमी, गोकर्णेश्वर महादेव टाइम लाइन, पाँचपोखरी आई लेन्स, आकाशदीप एकेडेमी, मदन भण्डारी मेमोरियल स्कुल, वर्ल्ड युथ इन्टरनेसनल स्कुल, चार्ल्स डार्विन, स्वर्ण शिक्षा, होली एकेडेमी, होली किड, ग्रीन सिटी मोन्टेस्वरी तथा महिला शिक्षा सञ्जाल लगायत रहेका छन्।

यसैगरी, राहत अभियानमा व्यक्तिगत तथा संस्थागत रूपमा समेत उल्लेखनीय सहयोग जुटेको छ। गोकर्णेश्वर नगरपालिका–४ स्थित नेपाल बौद्धिष्ट तामाङ सुधार समितिले २ लाख ५० हजार रुपैयाँ, उपकार युवा क्लबले १ लाख रुपैयाँ, समाजसेवी दीपक भण्डारीले १ लाख रुपैयाँ, गोकर्णेश्वर नगरपालिकाका आदिवासी जनजातिका अध्यक्ष फुर्साङ तामाङले १० हजार रुपैयाँ राहत कोषमा सहयोग गरेका छन्।

त्यस्तै, अत्तरखेल महिला समाजले १ लाख रुपैयाँ, शंखा टोल पारिजात महिला समूहले ५५ हजार ५ सय रुपैयाँ तथा वडा नं. ५, नयाँबस्तीस्थित सद्भाव टोल समितिले पनि राहत रकम हस्तान्तरण गरेका छन्। गोकर्णेश्वर नगरपालिकामा सञ्चालनमा रहेका विभिन्न सहकारी संस्थाहरूले समेत राहत कोषमा आर्थिक सहयोग गरेका छन्। विपद्का बेला प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा स्थानीय समुदाय, शैक्षिक संस्था तथा विभिन्न सामाजिक संघसंस्थाको उल्लेखनीय सहभागिता देखिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.