भदौ १३, हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ भिरखर्क र वडा नम्बर ३ युसिङ पाल्चोकको सिमानामा रहेको सातधारा ठूलो चट्टानी पहराका विभिन्न खोचबाट निरन्तर बगिरहेको निर्मल पानी अर्थात् जल । वरिपरि हरियाली जंगल, साना–ठूला झरना र पहाडी भूगोल । अनि त्यही ठाउँमा हरेक वर्ष भदौ पूर्णिमाको दिन भेला हुने हजारौँ मानिस ।
स्थानीयका लागि सातधारा केवल पानीका सात मुहान भएको ठाउँ होइन । यो आस्था, विश्वास, संस्कृति र पुस्तौँदेखि सुनिँदै आएका किंवदन्तीहरूसँग जोडिएको धार्मिक स्थल हो । चट्टानको खोचबाट सात स्थानमा पानी निस्कने भएकाले यसलाई सातधारा भनिएको पुरानो कथन रहेको छ । महादेवको पवित्र स्थलका रूपमा समेत चिनिने यहाँ हरेक वर्ष भदौ पूर्णिमाको दिन ठूलो मेला लाग्ने गर्दछ ।

चट्टानी पहरा अनि पानीसँग जोडिएको विश्वास
ठुलो अग्लो चट्टानी पहराको खोँचबाट निस्किने सातधाराको पानीसँग स्थानीय समुदायको गहिरो धार्मिक विश्वास जोडिएको छ । यहाँको दर्शन गरे मनले चिताएको पूरा हुने, सातधाराको जल सेवन गर्दा विभिन्न रोग निको हुने तथा यहाँको पानीमा स्नान गर्दा बालबालिकाको बोली स्पष्ट हुने जनविश्वास छ । यी विश्वासको वैज्ञानिक पुष्टि भएको दाबीभन्दा पनि पुस्तौँदेखि स्थानीय समुदायमा हस्तान्तरण हुँदै आएको धार्मिक आस्था र लोकविश्वासका रूपमा सातधाराको छुट्टै महत्व छ । हरेक वर्ष मेला लाग्ने समयमा टाढाटाढाबाट मानिसहरू यहाँ पुग्छन् । कोही दर्शन गर्न, कोही पूजा गर्न त कोही सातधाराको जल लिन । यसरी चट्टानी पहराको फेदमा शक्तिको रुपमा निस्किएको पानी सँग धार्मिक विश्वास जोडिएको छ ।

किंवदन्तीले अझ रोचक बनाएको सातधारा
सातधारासँग धार्मिक किंवदन्तीहरू पनि उत्तिकै जोडिएका छन् । स्थानीय पुरानो जानकारका अनुसार पहराभित्र ठूलो जलपोखरी रहेको र त्यहाँ माछा तथा सर्पहरू रहेको विश्वास गरिन्छ । कुनै समय पहराको खोचमा ठूलो माछा त्यहाँ प्रवेश गरेको र सुनको दियोमा बत्ती बलेको भन्ने किंवदन्तीसमेत स्थानीय पुस्ताबाट नयाँ पुस्तामा सुनाउँदै आएका छन् । यीनै कथा, विश्वास र आस्थाले सातधारालाई स्थानीय धार्मिक संस्कृतिको एउटा महत्वपूर्ण हिस्सा बनाएको छ ।
मेलाको आकर्षणः धामी–झाँक्री
भदौ पूर्णिमाको दिन सातधारा पुग्दा धार्मिक आस्था र स्थानीय संस्कृतिको फरक दृश्य देखिन्छ । वरिपरिका गाउँ मात्र होइन, विभिन्न ठाउँबाट मानिसहरू दर्शनका लागि आउने गर्दछन् । मेलामा धामी–झाँक्रीहरूको उपस्थितिले झनै विशेष वातावरण सिर्जना गर्छ ।
विभिन्न स्थानबाट आएका धामी–झाँक्रीहरूले यहाँ पूजा तथा धार्मिक विधि गर्ने गर्दछन् । बाजागाजा, पूजा, दर्शन र भक्तजनको भीडले सातधारा यस दिन दिनभरि नै धार्मिक उत्सवको माहोलमा परिणत गराउँछ । यस वर्ष पनि भदौ पूर्णिमाको अवसरमा सातधारामा ठूलो मेला तथा जात्रा लागेको थियो। हजारौँको संख्यामा भक्तजन तथा दर्शनार्थीहरूको उपस्थिति रहेको थियो ।
सरकारको नजर कहिले पर्ला ?
हरेक वर्ष मेला लाग्छ । मानिसहरू आउँछन् । पूजा गर्छन् । दर्शन गर्छन् र फर्किन्छन् । तर स्थानीयको प्रश्न छ—सातधाराको विकास र संरक्षणका लागि राज्यको ध्यान कहिले पुग्ने ? धार्मिक महत्वसँगै प्राकृतिक पर्यटनको समेत प्रशस्त सम्भावना रहेको सातधारा क्षेत्रमा अहिलेसम्म पर्याप्त पूर्वाधार निर्माण हुन नसकेको स्थानीयको गुनासो छ । मेलाका लागि आवश्यक सरसफाइ, व्यवस्थापन तथा अन्य तयारीसमेत स्थानीय समुदायले आफ्नै पहलमा गर्दै आएको छ ।
स्थानीय तहदेखि प्रदेश सरकारसम्मले यस क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि ठोस योजना ल्याउनुपर्ने उनीहरूको माग रहेको छ । धार्मिक शक्ति सँगै प्राकृतिक सुन्दरताले सुसुसज्जित सातधारामा कहिल्यै पनि सरकारको आखा नपर्नु नै यस ठाउँको लागि चिन्ताको बिषय बनेको छ ।
धार्मिक स्थल मात्र होइन, प्रकृतिको सुन्दर गन्तव्य
सातधाराको सम्भावना धर्ममा मात्र सीमित छैन । यसको वरिपरि प्रकृतिले पनि मन लोभ्याउने सौन्दर्य दिएको छ । साना–ठूला झरना, हरियाली जंगल, चट्टानी पहरा र पहाडी भूगोलले यो क्षेत्रलाई प्राकृतिक पर्यटनका लागि आकर्षक बनाएको छ ।
सातधारा नजिकै रहेको अग्लो र लामो सुन्दर झरना यसको अर्को आकर्षण हो । तर प्रचारप्रसारको अभाव र सहज पहुँचका लागि आवश्यक बाटो तथा पदमार्ग नहुँदा यस्ता प्राकृतिक सम्पदाहरू ओझेलमा परेका छन् । स्थानीयका अनुसार सडक, पदमार्ग, विश्रामस्थल, खानेपानी, शौचालयलगायत आधारभूत पूर्वाधार निर्माणसँगै उचित प्रचारप्रसार गर्न सके सातधारा धार्मिक तथा प्राकृतिक पर्यटनको राम्रो गन्तव्य बन्न सक्छ ।
सम्भावना ठूलो, संरक्षणको खाँचो
एउटा चट्टानी पहराको फेदबाट निस्कने सात धाराको पानीले बोकेको कथा निकै लामो छ । त्यसमा धर्म छ । आस्था छ । जनविश्वास छ । किंवदन्ती छ । स्थानीय संस्कृति छ । अनि प्रकृतिले दिएको अनुपम सौन्दर्य पनि छ । हरेक वर्ष हजारौँ मानिसलाई आफ्नोतर्फ आकर्षित गर्ने सातधारा अहिले पनि स्थानीय समुदायको विश्वास र पहलमै टिकेको छ ।
अब स्थानीयको अपेक्षा छ—यो आस्था र प्राकृतिक सम्पदालाई संरक्षण गर्दै भावी पुस्तासम्म पुर्याउने जिम्मेवारी राज्यले पनि लियोस् । सातधारा केवल वर्षमा एक दिन मेला लाग्ने ठाउँ होइन । यहाँ धार्मिक पर्यटनको सम्भावना छ, प्राकृतिक पर्यटनको सम्भावना छ र स्थानीय संस्कृति तथा पहिचानसँग जोडिएको कथा छ । आवश्यक पूर्वाधार, संरक्षण र प्रचारप्रसार हुन सके हेलम्बुको सातधारा स्थानीय आस्थाको केन्द्रबाट जिल्लाकै महत्वपूर्ण धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्य बन्न सक्छ । अहिले सातधारा यही सम्भावनासहित सरकारको नजर र योजनाको पर्खाइमा छ ।



