साउन २२, काठमाडौं । काठमाडौं । आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानको आइची–नागोयामा हुने २०औँ एसियाली खेलकुदको तयारीका लागि भारतमा विशेष प्रशिक्षणमा जाने नेपाली बक्सिङ टोलीलाई आज नेपाल ओलम्पिक कमिटीले औपचारिक रूपमा बिदाइ गरेको छ।
टोलीले भारतको असमस्थित स्पोर्ट्स अथोरिटी अफ इन्डिया (SAI) अन्तर्गतको नेसनल सेन्टर अफ एक्सिलेन्स (NCOE), गुवाहाटी मा २० दिन विशेष प्रशिक्षण लिनेछ। प्रशिक्षणपछि टोली त्यहीँबाट एसियाली खेलकुदमा सहभागिता जनाउन जापान प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
प्रशिक्षणमा रमिशा श्रेष्ठ, अर्सिमता दुगाल, कुशुम तामाङ, चन्द्रबहादुर थापा, खजान्द्रे रोका मगर, दानबहादुर दलामी र रोबिन नेपाल सहभागी छन्। टोलीसँग प्रशिक्षक राज श्रेष्ठ र दीपक महर्जन रहेका छन् भने ज्ञानबहादुर भण्डारी टोली व्यवस्थापकका रूपमा रहेका छन्।
नेपाल बक्सिङ महासंघले भारतमा हुने यो प्रशिक्षणले खेलाडीहरूको प्राविधिक, शारीरिक तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ। साथै, एसियाली खेलकुदमा नेपालको प्रदर्शन सुधारका लागि यो प्रशिक्षण महत्वपूर्ण हुने महासंघको अपेक्षा रहेको छ।

