३२औँ विश्व आदिवासी दिवस खुल्ला मञ्चमा मनाइदै, ३५ हजारभन्दा बढी सहभागी हुने

आउन २२, काठमाडौं ।नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले ३२औँ विश्व आदिवासी दिवस आगामी साउन २४ गते काठमाडौँको खुलामञ्चमा करिब ३५ हजार आदिवासी जनजातिको सहभागितासहित मनाउने तयारी गरेको छ।

महासंघले विहिबार  काठमाडौँमा पत्रकार सम्मेलन गरी यस वर्षको दिवसलाई नेपालका आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति र आत्मनिर्णयको आवाज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने अवसरका रूपमा मनाउन लागिएको जनाएको हो ।

महासंघका अध्यक्ष निमा ह्योल्मो लामाले खुलामञ्चमा करिब ३५ हजार आदिवासी जनजातिको सहभागिता गराई दिवसलाई अधिकार प्राप्तिको सशक्त अभियानका रूपमा स्थापित गर्ने तयारी भइरहेको बताए । उनका अनुसार कार्यक्रमले नेपालका आदिवासी जनजातिको एकता, विविधता र साझा अधिकारको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउनेछ ।

महासंघका उपाध्यक्ष तथा प्रचार–प्रसार समितिका संयोजक अमृतबहादुर सुनुवारले यस वर्षको विश्व आदिवासी दिवस नेपालमा मात्र सीमित नभई विश्वलाई सन्देश दिने गरी आयोजना गरिने बताए । उनले दिवसलाई सांस्कृतिक तथा परम्परागत खानाका परिकारको महोत्सवका रूपमा पनि विकास गरिने जानकारी दिए ।

महासंघका महासचिव विमल सारु मगरले काठमाडौँ उपत्यकामा करिब २० लाख आदिवासी जनजातिको बसोबास रहेको उल्लेख गर्दै कम्तीमा ३५ हजार सहभागी उपस्थित गराउने लक्ष्यसहित तयारी भइरहेको बताए ।

उनका अनुसार कार्यक्रमका लागि २०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। विभिन्न जातीय सदस्य संस्था, प्रदेश तथा जिल्ला समन्वय समिति, युवा, महिला, विद्यार्थी तथा सांस्कृतिक समूह तयारीमा जुटेका छन्।

महासंघले यस वर्षको कार्यक्रममा नेपालका ५६ भन्दा बढी आदिवासी जनजातिको मौलिक संस्कृति, कला, परम्परा र जीवनशैलीलाई एउटै थलोमा प्रस्तुत गरिने जनाएको छ ।

विभिन्न समुदायका परम्परागत खानाका परिकार, हस्तकला, जातीय पोशाक, सांस्कृतिक सामग्री तथा मौलिक बाजागाजाको प्रदर्शनी गरिनुका साथै विविध सांस्कृतिक प्रस्तुति रहने जनाइएको छ।

विश्व आदिवासी दिवसका अवसरमा मातृभाषा संरक्षण, भाषा पत्रकारिता, संस्कृति, परम्परागत ज्ञान, प्राकृतिक स्रोतमा अधिकार, भूमि, पहिचान, समानुपातिक सहभागिता, सामाजिक न्याय तथा संविधानप्रदत्त अधिकारका विषयमा पनि विशेष बहस गरिने महासंघले जनाएको छ।

कार्यक्रममा नेपालका आदिवासी आन्दोलनका उपलब्धि, संविधानमा आदिवासी जनजातिको पहिचान, अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि (आईएलओ–१६९) तथा संयुक्त राष्ट्रसंघीय आदिवासी अधिकारसम्बन्धी घोषणापत्रलगायत विषयमा पनि छलफल गरिने जनाइएको छ। संयुक्त राष्ट्रसंघले ३२औं आदिवासी दिवशकोलागि यस प्रकारको नारा तय गरेको छ । – “आदिवासी प्रसूतिकर्मीहरुको सम्मान ,सुरक्षित र स्वस्थ जीवन” ।

महासंघले कार्यक्रमलाई नेपालको बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय पहिचान विश्वसामु प्रस्तुत गर्ने अवसरका रूपमा व्याख्या गर्दै आदिवासी जनजाति समुदाय, सरोकारवाला निकाय, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिकलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.