साउन २१, काठमाडौँ । वरिष्ठ साहित्यकार एवं कवि शैलेन्द्र साकारको ‘एकल कविता वाचन’ गर्नुभएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा काव्य क्षेत्रका विशिष्ट साधक साकारले एक दर्जन नयाँ कविता वाचन गर्नुभएको हो । उहाँले यो प्रेम, गिद्ध र बालक, सुरक्षा कति प्रतिशत, बाँच्न अयोग्य हुन्छ तानाशाह, सपना, पुतली, परदेशमा समय, बन्धन, मूर्तिसहितका कविता वाचन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै आख्यानकार माया ठकुरीले साहित्यिक यात्रा आरम्भ गर्दा आफूले कविता लेखेको स्मरण गर्नुभयो ।
भृकुटी सञ्चारले आयोजना गरेको कार्यक्रममा ‘राष्ट्रियतामा साहित्यको भूमिका’ विषयक वैचारिक विमर्श आयोजना गरिएको छ । साहित्यकार पुष्कर लोहनी, साहित्यकार प्राध्यापक युयुत्सु आरडी शर्मा, प्रा।डा। सुरेन्द्र केसी, पूर्व राजदूत डा। निर्मल विश्वकर्माले राष्ट्रियता र साहित्यका सन्दर्भमा बोल्नुभयो ।
साहित्यकार लोहनीले समाजलाई चेतना प्रदान गर्न साहित्यकारले भूमिका खेल्नुपर्ने बताउनुभयो । डा। शर्माले विज्ञान र उपकरणका कारण मानव अस्तित्व संकटमा रहेकाले साहित्य जगतले लेखनमार्फत यसलाई जोगाउन अभिप्रेरित गर्नुपर्ने बताउनुभयो । भृकुटी सञ्चारका अध्यक्ष ज्योतिकिरण रिजालका अनुसार एकल कविता वाचनमा सहभागीका तर्फबाट सङ्कलित १३ हजार रुपैयाँ वरिष्ठ साहित्यकार एवं कवि शैलेन्द्र साकारलाई सम्मानस्वरूप प्रदान गरिएको छ ।

