साउन १२, काठमाडौं । नेपाली क्रिकेटका महान खेलाडी तथा विश्व कीर्तिमानी अलराउन्डर मेहबुब आलम प्रतिष्ठित एसियन लिजेन्ड्स लिग सिजन–२ मा सहभागी हुने भएका छन्।
संयुक्त अरब इमिरेट स्थित वर्ल्ड स्पोर्ट्स ग्रुप को आयोजनामा हुन लागेको यस प्रतियोगिता जुलाई ३० देखि अगस्ट १० सम्म जाम्बिया मा सञ्चालन हुनेछ। उनी जुलाई २९ मा जाम्बियातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। मेहबुब एसियन स्टार्स टोलीबाट एसियन लिजेन्ड्स लिग सिजन–२ खेल्नेछन्। यस टोलीको कप्तानी श्रीलंकाका पूर्वकप्तान तिलकरत्ने दिलशान ले गर्नेछन्।
मेहबुब आलम नेपाली क्रिकेट इतिहासका सबैभन्दा चर्चित खेलाडीमध्ये एक हुन्। उनले सन् २००८ मा आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन–५ अन्तर्गत मोजाम्बिकविरुद्ध ७.५ ओभरमा १२ रन खर्चेर सबै १० विकेट लिएर विश्व क्रिकेटमा इतिहास रचेका थिए। सीमित ओभरको अन्तर्राष्ट्रिय क्रिकेटमा एक्लैले विपक्षी टोलीका सबै १० विकेट लिने उनी पहिलो खेलाडी बनेका थिए, जसका कारण उनको नाम गिनिज वर्ल्ड रेकर्ड्स मा रहेको छ।
नेपालका तर्फबाट आलमको सहभागिता नेपाली क्रिकेटका लागि गर्वको विषय बनेको छ।एसियन लिजेन्ड्स लिग जस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै मेहबुब आलमको सहभागिताले नेपाली क्रिकेटलाई विश्व मञ्चमा थप चिनाउने विश्वास गरिएको छ।
प्रतियोगितामा क्रिकेट जगतका चर्चित पूर्वअन्तर्राष्ट्रिय खेलाडीहरू युसुफ पठान, अम्बाती रायुडु, शाकिब अल हसन, उपुल थरंगा, तिलकरत्ने दिलशान लगायतका थुप्रै दिग्गज खेलाडीहरूको सहभागिता हुनेछ।

