आज देशभर साउने संक्रान्ति मनाइँदै: आजैदेखि दक्षिणायन सुरु

काठमाडौं। सौरमासअनुसार प्रत्येक वर्षको साउन १ गते मनाइने रैथाने पर्व साउने अर्थात् कर्कट सङ्क्रान्ति आज देशभर स्नान, दान तथा पूजा–आराधना गरी परम्परागत रूपमा मनाइँदैछ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ। वैदिक सनातन हिन्दू परम्परामा आजको दिनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले विधिवत् रूपमा दक्षिणायनको सुरुवात हुने गर्दछ, जसलाई धार्मिक दृष्टिकोणले विशेष महत्वका साथ हेरिन्छ।

नेपाली समाजमा यो पर्व कृषिसँग पनि अभिन्न रूपमा जोडिएको छ। असार महिनाभर मानो रोपेर मुरी उब्जाउने चटारोमा हिलोमैलोसँग पौंठेजोरी खेलेका किसानहरूले हिलोका कारण आउन सक्ने छालासम्बन्धी रोग र एलर्जीबाट मुक्ति पाउन आजको दिन लुतो फाल्ने गर्दछन्।

औषधीय गुणले युक्त वनस्पतिहरू जस्तै काग भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा र नासपाती आदि संकलन गरेर कण्डारक नाम गरेको राक्षसको पूजा गरी अगुल्टो फाल्ने प्राचीन चलन छ।

यस अवसरमा आ-आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने र घरका झ्यालढोका बन्द गरी टोलभरिका मानिसहरू एकै स्वरमा ‘लुतो जा’ भन्दै कराउने गर्दछन्।

यसैगरी आजैका दिनदेखि देवादिदेव महादेवको विशेष पूजा-आराधना गरिने पवित्र साउन महिनाको औपचारिक सुरुवात समेत भएको छ। साउन महिनाभर महिलाहरूले हरियो चुरा, पोते र हरियो कपडा पहिरिएर प्रकृतिप्रतिको सामीप्यता र सम्मान प्रकट गर्ने गर्दछन्।

भगवान् शिवको प्रिय महिना मानिने साउनको पहिलो दिनदेखि नै काठमाडौँको पशुपतिनाथ मन्दिरलगायत मुलुकभरका विभिन्न शिवालय र धामहरूमा दर्शनार्थी एवं बोलबमका यात्रीहरूको विशेष चहलपहल सुरु भएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.