साउन २९, एजेन्सी । फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) का अध्यक्ष अल–खलाफीले नेयमार र केलियन एमबाप्पे फ्रान्समै रहने बताएका छन् । स्टार खेलाडीद्वय नेयमार र एमबाप्पे क्लबका महत्त्वपूर्ण खेलाडी भएकाले दुवै पीएसजीमै रहने उनले बताएका हुन् ।
दुवै खेलाडीको क्लबसँग २०२२ सम्मका लागि सम्झौता भए पनि उनीहरु क्लब छोड्न सक्ने हल्ला चलेको छ । तर, क्लब अध्यक्ष अल(खेलाफीले उनीहरूको प्रशंसा गर्दै यो जोडी पीएसजीमै रहने बताए । “एमबाप्पेसँग नेयमार विश्वको सर्वश्रेष्ठ खेलाडी हुन् । उनीहरु शीर्ष तीनमा छन्,” उनले भने, “नेयमार एटलान्टाविरुद्धको खेलमा म्यान अफ दी म्याच थिए । जुन एक ठूलो प्रतिस्पर्धाको खेल थियो । नेयमार र एमबाप्पे बाहिरिने छैनन् । उनीहरु पीएसजीमा सँगै रहनेछन् ।” नेयमार र एमबाप्पेको जोडीले पीएसजीका लागि महत्त्वपूर्ण भूमिका खेल्दै यस सिजन तीन उपाधि दिलाइसकेका छन् । यसै जोडीले बुधबार भएको च्यम्पियन्स लिगको क्वार्टर फाइनल खेलमा एटलान्टालाई पराजित गर्दै सेमिफाइनल पुगेको थियो ।
उत्कृष्टमध्येको एक यो जोडी फ्रोन्च लिग वान च्याम्पियन पीएसजीलाई सिजनको चौथो उपाधि दिलाउने दौडमा छ । यसै जोडीको उत्कृष्ट प्रदर्शनले पीएसजी इतिहासकै दोस्रोपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

