टर्कीमा रहेका नेपालीद्वारा स्वदेश फिर्तीको पहल गरिदिन आग्रह

बैशाख १३, काठमाडौं । टर्कीमा अवैधानिकरूपमा बस्दै आएका नेपालीहरुले स्वदेश फिर्तीका लागि पहल गरिदिन सरकारलाई आग्रह गरेका छन् । कोरोना भाइरसको जोखिम रहेको अवस्थामा टर्की सरकारले हाल स्वदेश फर्किने वातावरण बनाइदिएको भन्दै सो माग गरेका हुन् ।

‘टर्की नेपाली समाज’ले टर्कीसमेत हेर्ने पाकिस्तानस्थित नेपाली राजदूतावासलाई एक पत्रमार्फत लकडाउन जारी गरिएसँगै हजारौँको सङ्ख्यामा टर्कीमा अवैधानिकरूपमा रहेका नेपालीको अवस्था कठिन बन्दै गएको जानकारी गराएको छ । समाजका अध्यक्ष उज्वलकुमार घिसिङले वैधानिक श्रमिकले समेत रोजगारी गुमाउनु पर्ने वा बेतलबी बिदामा बस्नु पर्दाको पीडाले झन् निराशा सिर्जना गरिसकेको उल्लेख गरे ।

उनका अनुसार कोरोना भाइरसले विश्वलाई नै आक्रान्त बनाइरहेको कठिन अवस्थालाई ध्यानमा राखेर टर्की सरकारले अवैधानिक आप्रवासी कामदारका लागि जरिवाना मिनाहा र आममाफीको निर्णय गरी स्वदेश फिर्तीका लागि प्रक्रिया शुरु गरिसकेको छ । सुविधासहित घर फर्किन टर्की सरकारले दिएको समयसीमा सकिनासाथ अवैधानिक श्रमिकमाथि कारवाही हुने खतरा रहेको जनाउँदै समाजले स्वदेश फिर्तीका लागि पहल गरिदिन इस्लामावादस्थित नेपाली राजदूतावाससमक्ष अनुरोध गरेको छ ।

यस सम्बन्धमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले पाकिस्तानस्थित नेपाली राजदूतावासमार्फत टर्कीमा रहेका नेपालीको अवस्था र स्वास्थ्यस्थितिका बारे चासो लिँदै सहयोगका लागि त्यहाँको सरकारसँग समन्वयमा रहेको जानकारी दिए। टर्कीमा रहेका नेपालीका समस्याबारे गैरआवासीय नेपाली सङ्घले पनि आवश्यक चासो लिई सहयोगका लागि पहल गरिरहेको सङ्घको ‘कोभिड–१९ उच्चस्तरीय समिति’ अन्तर्गतको स्वास्थ्य समितिका सदस्य अतुल कोइरालाले जानकारी दिए ।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.