वैशाख १९, एजेन्सी । युइएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले लिभरुिलाई ३-० ले पराजित गरेको छ । नेपाली समय अनुसार बिहीबार बिहान घरेलु मैदानमा बार्सिलोनाले फराकिलो गोलान्तरले जित हातपारेको हो ।
बार्सिलोनाको जितमा लुइस सुअरेज र लिओनल मेस्सीले गोल गरे । सुरुवातमै अग्रता न।लिएको बार्सिलोनाका लागि मेस्सी दुई गोल थपेपछि जित थप रोमाञ्चक बनेको हो ।
घरेलु मैदानमा करिब ९८ हजार दर्शकमाझ खेलिरहेको बार्सिलोनाले उत्कृष्ट प्रदर्शनसँगै शानदार जित हात पारेको छ । कप्तान मेस्सीले व्यक्तिगत २ गोल गर्दै खेललाई झन रौनकता प्रदान गरे ।
पाहुना टोलीलाई पोस्टको माथिल्लो भागबाट जोर्डी अल्बाले दिएको क्रस पासमा हलुका वान टच दिएर लिभरपुलका गोलरक्षक एलिसनको शिर माथिबाट बल प्रहार गर्न सुअरेज सफल भएपछि बार्सिलोनाले सुरुवाती अग्रता बनायो । खेलको २६ औँ मिनेटमै सुअरेजले गोल गरे ।
पहिलो हाफमै अग्रता बनाइसकेको बार्सिलोनाले खेलको ७५औं मिनेटमा स्वारेजले बक्स भित्रबाट हानेको प्रहार बारमा लाग्दै फर्किएको बलमा मेस्सीले विपक्षी डिफेन्डरलाई जित्दै गोल गरे । यो गोलसँगै बार्सिलोनाले २-० को अग्रता बनायो ।
८२औं मिनेटमा पाएको फ्रि किकको सदुपयोग गर्दै मेस्सीले ‘ट्रेडमार्क’ फ्रि किक गोल गरे । योसँगै बार्सिलोना खेलमा ३–० अग्रता कायम गर्दै सोही अग्रतामा जित हात पारेको हो ।
योसँगै बार्सिलोनाको फाइनल पुग्ने सम्भावना बढेको छ । आगामी मे ७ मा लिभरपुलको घर एनफिल्डमा हुने लेगमा बार्सिलोना ०–२ ले हारे पनि फाइनल पुग्छ भने लिभरपुललाई ९० मिनेटमै जित्न कम्तीमा ४–० को जित चाहिन्छ । उल्टो बार्सिलोनाले नै गोल गर्याे भने जितका लागि लिभरपुललाई सकस बन्ने छ ।

