रोजगारीका क्रममा कोरिया जाने महिलाको संख्या न्यूण

माघ ६, काठमाडौं। नेपाली महिला वैदेशिक रोजगारीमा जाने क्रम बढिरहेको छ। मुलुकमा बढ्दो बेरोजगारीको समस्यासँगै नेपाली महिला चोरबाटो हुँदै विभिन्न मुलुकमा जाने क्रम बढेको छ। तर रोजगारीका लागि आकर्षक मानिएको कोरिया जान महिलाको आकर्षण भने कम देखिएको छ।

वैदेशिक रोजगार विभाग अन्तर्गत इपीएस कोरिया शाखाका अनुसार रोजगारीका लागि कोरिया जाने महिला श्रमिकको संख्या न्यून रहेको पाइएको हो । रोजगारीका लागि कोरिया जाने पुरुषको संख्या भने निरन्तर बढिरहेको शाखाको तथ्यांकमा उल्लेख छ। शाखाका अनुसार सन् २०१६ मा ५ सय ७८ महिला रोजगारीका लागि कोरिया गएका थिए। सन् २०१७ मा रोजगारी जाने महिलाको संख्या घटेर ३ सय ७६ जना पुगेको थियो। यो संख्या २०१८ मा थोरै बढेपनि उल्लेख्य आकर्षण भने हुन नसेको इपीएस शाखाले जानकारी दिएको छ। सन् २०१८ मा ३ सय ८६ महिला रोजगारीका लागि कोरिया गएका छन्। इपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारी महिलाको कोरिया रोजगारीमा सहभागिता न्यून रहेको बताउँछन्। प्रवक्ता भण्डारी भन्छन्, ‘कोरियामा काम पनि कठिन छ, भाषा पास गरेर जानुपर्ने हुँदा महिला खाडीमा जाने तर कोरिया जान भाषा पढ्दैनन्।’ नेपाली श्रमिकका लागि कोरियामा पारिश्रमिक र सुरक्षाको हिसाबले पनि राम्रो भएको बताउँछन् प्रवक्ता भण्डारी।  नेपालबाट थुप्रै महिला श्रमिक वैदेशिक रोजगारका लागि साउदी, कतार, दुवई, बहराइन, ओमान, मलेशिया लगायतका देशमा जाने गरेका छन्। घरायसी कामका लागि महिला कामदारलाई सरकारले रोक लगाएपछि अबैधानिक बाटो हुँदै लुकिछिपी जानेको संख्या पनि निकै ठूलो संख्या छ।

यसरी ज्यान जोखिम राखेर वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढी रहँदा पारिश्रमिक लगायत श्रमिक सुरक्षा समेत राम्रो रहेको कोरियामा रोजगारीका लागि जाने नेपाली महिला कम हुनुमा महिला कामदार अदक्ष र अशिक्षित हुनु विज्ञहरुको बुझाइ छ। धेरै महिलाहरु राम्रो सँग लेखपढ गर्न नजान्नेहरु नै रोजगारीका लागि खाडी लगायतका मुलुकमा जाने गरेका छन्। कोरिया रोजगारीमा जानका लागि भाषा पास अनिवार्य गर्नुपर्ने हुँदा कोरियन भाषा पढेर पास गरेर जाने महिलाको संख्यामा कमी भएको बताइएको छ। कोरियन भाषामा संलग्न भएका महिला परिक्षामा कम उर्तीण हुने हुँदा समेत कोरिया जाने महिलाको संख्या कमी भएको शाखाले जानकारी दिएको छ। नेपाल सरकार र कोरिया सरकारबीच भएको समझदारी अनुसार नेपाली श्रमिकहरु सन् २००८ देखि इपीएस प्रणालीमार्फत दक्षिण कोरिया जान थालेका हुन्। कोरियामा रोजगारीका लागि जाने नेपाली श्रमिकको तलब न्यूनतम मासिक १ लाख ५० हजार नेपाली रुपैयाँ तोकिएको छ। कोरियामा मासिक ३ लाख देखि ४ लाखसम्म कमाइ हुने कोरियामा रोजगारीबाट फर्किएका र रोजगारी गरिरहेका श्रमिकहरु बताउँछन्। नेपालबाट धेरै जसो श्रमिक कृषि र घरायसी कामदारका रुपमा कोरिया जाने गरेका छन्।

काम र कमाई राम्रो नै हुने भएता पनि रोजगारीका लागि कोरियामा कार्यरत कतिपय श्रमिकहरुले आत्महत्या गर्ने गरेको शाखाले जानकारी दिएको छ। कोरियामा रोजगारी कमाई राम्रो छ भन्ने सुनेर जाने युवा र नेपालमा पनि केही दुख नगरेका युवा कोरिया रोजगारीमा गएर निकै कठिन परिश्रम गर्नुपर्दा आत्महत्या गर्ने समस्या रहेको इपीएस शाखाले जानकारी दिएको छ। इपीएस शाखाका प्रवक्ता भण्डारीले कोरिया जाने कामदारलाई त्यहाँको परिवेश सम्बन्धी जानकारी दिनका लागि अभिमुखिकरण तालिमको राम्रो व्यवस्था गर्नुपर्ने जानकारी दिएका छन्। कोरियामा कार्यरत युवाले कोरिया नेपालबाट सोचेजस्तो सजिलो नभएर कडा परिश्रम गर्नुपर्ने हुँदा आत्महत्या गर्ने युवाहरुको संख्या बढ्दै गएको बताएका छन्। कोरियामा २ वर्षदेखि काम गर्दै आएका दोलखाका महेश श्रेष्ठ भन्छन्, ‘कोरियामा जति सजिलो सोचेर युवाहरु आउँछन् नेपालमा कुनै दुख नगरेकाहरु कोरियामा आएर एकैपटक कठिन काम गर्नुपर्दा उनीहरुले केही नसोचि आत्महत्या गर्छन्।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.