“गर्नेलाई जहाँ पनि हुन्छ नगर्नेलाई कहि पनि हुन्न, मात्र इच्छशक्ति र आत्मविश्वास हुनुपर्छ । निरन्तर मेहनतका साथ काम गरियो भने त्यसको फल आवश्य मिठो हुन्छ । त्यही मिठो फलले नै आत्म सन्तुष्टि मेटाउँछ, आत्मा सन्तुष्टि नै मानव प्राणीको महत्वपूर्ण आकांक्षी हो ।”
त्यस्तै बनेकी छिन् धनकुटा जिल्लाकी लक्ष्मी राई । उनी एक सफल महिला उद्यमी मात्र नभई सफल प्रशिक्षकको रुपमा समेत अग्रपंक्तिमा छिन् । काठमाडौंको गोठाटारमा एउटा सानो छाप्रोमा बेत तथा बाँसबाट निस्किएका चोयाको सहि सदुपयोग गर्दै सजावाटका विभिन्न सामग्री उत्पादन गर्दै आएकी छिन् । तिनै कच्चपदार्थलाई आफ्नो सीपमा ढाल्दै व्यवसायिक रुपमा फस्टाउन सफल भएकी छिन् उनी ।

प्रस्तुत छ महिला उद्यमी लक्ष्मी राईसंग प्रारम्भ खबरले गरेको कुराकानीको आधारमा सम्पादित अंशः
शिक्षाः
लक्ष्मी राई सामान्य शिक्षा हासिल गरे पनि हजारौं संख्यामा महिला तथा पुरुषहरुलाई हस्तकला सम्बन्धि प्रशिक्षण समेत दिदै आईरहेकी छिन् । उनले नेपालको ५० भन्दा बढि जिल्ला पुगेर विभिन्न संघसंस्थाको आयोजनामा प्रशिक्षण प्रदान गर्दै आएकी छिन् ।
धनकुटामा विविध कारणले आफुले उच्च शिक्षा हासिल गर्न नसकिए पनि पश्चातप भने उनमा छैन । शिक्षा भनेको औपचारिकताको लागि मात्र हो आफुले जे कुराबाट सन्तुष्ट प्राप्त गर्छन तिनै चीज अरुलाई पनि बाँढ्नु उत्तम शिक्षा मानिन्छ उनी ।
परिवेश र कर्म
सुविधाको हिसावले विकट मानिएको धनकुटामा पराम्परागत शैलीमा पुख्यौलीदेखि नै अवलम्बन गर्दै आएको सीपलाई आफुले व्यवसायीकरण गर्न सकेकी दावी गर्छिन् । आत्माविश्वास र अठोटका साथ निरन्तर मेहनत गरेमा सफलताको बाटो आफै पहिल्याउँदै जानेमा उनि विश्वस्त छिन् ।
त्यहि अठोट र विश्वासलाई आत्मासाथ गरी इलाम, झापा हुदै राजधानी काठमाडौं प्रवेश गरेकी उनले थोरै समयमा केही संघर्ष गरे पनि पछिल्लो दिनहरुमा खुसी र आत्मा सन्तुष्टि मिल्दै गएको बताउँछिन् ।
जिल्लामै रहदाँ २०५४ सालमा श्री शुभलक्ष्मी बेतबाँस फर्निचर हस्तकला उद्योग दर्ता गरी व्यवसायिक रुपमै आफुले सिकेको कलालाई अझ प्रभावकारी रुपमा अगाडी बढाउँदै गइन् । गाउँघरमै पाईने बेत बाँसको चोया संकलन गरी विभिन्न कलात्मक आकृति, औजार तथा सजावाटका वस्तुहरु निर्माण गरि बेच्दै आम्दानीको श्रोत बनाएको सुनाउँछिन् । त्यस्तै २०७२ सालमा राजधानी प्रवेशसंगै पुनः श्री शुभ बेत बाँस हस्तकला उद्योग नाममा घरेलु तथा साना उद्योग त्रिपुरेश्वरमा दर्ता गरी विधिवत रुपमा पेसालाई अंगाल्दै आएका बताउँछिन् ।
उत्पादन हुने वस्तुहरुः
बेतबाँसको चोयाबाट अत्यन्त आकर्षक वस्तुहरु उत्पादन गर्दै आएका छन् । उद्योगमा दर्ता गरी समयअनुसार बजार तथा विभिन्न कार्यालयतिर सजावाटका आवश्यक सामग्री उत्पादन हुने गरेको छ । बेत बाँसका कच्च पर्दाथबाटै मनाज्ञ पैसा कमाईन्छ, रोजगारको लागि विदेश पनि जानुपर्दैन उनले भनिन् । थोरै ठाउँ ओगाट्ने आफु बस्ने छाप्रामै उत्पादित बस्तुहरु टि–पर्स, चुरा, स्टेन्ट, ट्रे, पर्दा, माला, सानो घर÷मन्दिर, फलफूल ट्रे, पेपर बक्स, पेन स्टेन्ट, फूल ह्यांगार, बोतल कभर, क्याप, बेकरी बक्स लगायत खेलाउनका सामग्री समेत बजारबाट अर्डर अनुसार उत्पादन गर्दै आएको बताउँछिन् ।

बजार तथा बिक्री
त्यहाँबाट उत्पादित हस्तकलाका वस्तुहरु बजारका होलसेल पसलहरु, विभिन्न होटल, रेष्ट्ररेन्ट तथा अफिसहरुमा पु¥याउँछन् । सरकारी तथा नीजि अफिसहरुबाट उत्पादित सामग्रीको माग आउने र अर्डरअनुसार विदेशमा समेत बठाउँने गर्छन् ।
कार्यरत कामदार
लक्ष्मी राई काठमाडौं गोठाटारको सुकुम्बासी बस्ती जहाँ जस्ताको टहरा बनाई सबै परिवार सहित बस्छिन् । त्यही दुईओटा कोठाको व्यवस्थापन गरिएको छ । त्यहाँ कार्यरत ५ जना कामदार र आफु सहित परिवारका सबै सदस्यले काम गर्दै आएको बताउँछिन् । ५ जना लाई पूर्ण रुपमा रोजगार प्रदान गर्दै आएकी उद्यमी राईले उनिहरुलाई मासिक ३० हजारका दरले परिश्रमिक प्रदान गर्दै आएकी बताउँछिन् । उनले भन्छिन् – ‘जति दुःख गरियो त्यत्ति नै उत्पदान र आम्दानी वृद्धि हुने हो, दुःख गर्न चाँही अल्छि मान्नु भएन ।’ काठमाडौंमा भाडाका कोठा लिएर बस्नेहरुलाई समेत काम दिने सक्ने उनी बताउँछिन् ।

कहाँबाट ल्याउँने कच्च पदार्थ ?
धनकुटा, झापा, इलाम र पाँचथरमा पाईने बेत तथा बाँसको चोया बनाएर काठमाडौं ल्याउँने गर्दछ । काठमाडौं आसपासका जिल्लाहरुबाट पनि चोया ल्याउने गर्छन तर सबैभन्दा राम्रो चाँही इलाम र पाँचथरको हुने उनी सुनाउँछिन् ।
परिवारिक अवस्था
संघर्षशील जीवनयात्रालाई आफ्नो पेसामा ढाल्दै आएकी लक्ष्मी राई ५ जना परिवारसहित त्यही टहरामा बस्छिन् । दुई छोरी र १ छोरालाई पढाउँदै आएका छन् । दुई छोरी उच्च शिक्षा समेत हासिल गर्दैछिन् भने छोरा पनि राम्रै विद्यालयमा पढ्छन् । छोरीहरु पनि कलेज सकिएपछि आफुलाई सघाउने बताईन् ।
कसरी सुरु भयो पेसा ?
गाउघरमा आफ्नो पुख्र्यौलीदेखिको सीपलाई तालिम लिएर अहिले व्यवसायिक रुपमा अगाडी बढेकी र बाउँबाजेले बुनेको डोको, नाङ्लो, गुन्द्री तथा विभिन्न वस्तुहरु देखेपछि आफु पनि त्यसतर्फ आकर्षित भएर त्यही पेसालाई अवलम्बन गरेकी बताउँछिन् ।

प्रशिक्षण पनि दिने
कहिले कहिले अन्य संघसंस्था र नेपाल सरकारको घरेलु उद्योगले समेत उनलाई प्रशिक्षकको रुपमा विभिन्न ठाउँमा लाने गरेको सुनाउँछिन् । न्युनतम १ महिनादेखि ३ महिनासम्मको अवधिमा हुने उक्त तालिममा दैनिक १५ सयदेखि ५ हजारसम्म आफुले सेवा भत्ता थाप्दै आएकी राई हालसम्म १२ सयभन्दा बढिलाई प्रशिक्षण दिईसकेकी बताउँछिन् ।

पुरस्कार तथा सम्मान
लक्ष्मी राई सीप मेहिनतलाई कदर गर्दै पटक–पटक उत्कृष्ठ पुरस्कार तथा नगद राशी समेत लिइसकेका छिन् । २०६५ मा धनकुटाबाट प्रथम, २०६६ मा इलामबाट प्रथम र २०६८ सालमा नेपाल सरकार घरेलु समिति त्रिपुरेश्वरबाट आयोजना गरिएको पर्दशनीमा उत्कृष्ठ सम्मान पाईसकेकी छिन् ।
अन्त्यमा
आफुले प्रशिक्षण दिइएका प्रशिक्षार्थीहरु पनि अहिले व्यवसायी बनिसकेकोमा खुसी व्यक्त गर्दै यस प्रकारका अवसर र सुविधा राज्यस्तरबाटै उपलब्ध गराई महिलालाई प्रोत्साहन गराउन सरोकारवालाई आग्रह गर्छिन् । सीप लिए निरन्तरता दिनुपर्ने, त्यहीबाटै आफ्नो आम्दानीको भाग्य खुल्ने, रोजगार सिर्जना हुने भएकाले कामलाई सानो ठूलो भन्दा पनि आफ्नो सीपलाई सन्तुष्टिका साथ अगाडी बढ्न सबैलाई आग्रह गर्छु । यस प्रकारको काममा जति उत्पादन गर्न सकियो त्यहि अनुसार आम्दानी वृद्धि गर्न सकिन्छ । केही गर्छु भन्ने सोँच भने भित्री आत्मादेखि नै आउनुपर्छ ।
प्रस्तुतिः भिम लामा

