कार्तिक २१, काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्ले ‘ठमेल क्षेत्रको शान्ति सुरक्षा सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख इश्वरीप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा काठमाडौँ उपत्यका केन्द्रित तीन निकायकै सुरक्षा प्रमुखहरू र स्थानीय नागरिकवीच ठमेल क्षेत्रको शान्ति सुरक्षा व्यवस्थापन र आवश्यक समन्वयका बारेमा छलफल गरिएको थियो । शुक्रबार भएको सो कार्यक्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख ईश्वरीप्रसाद पौडेलले ठमेलमात्र नभई काठमाडौँलाई २४ घण्टा खुलाउनेबारे जिल्ला प्रशासन कार्यालयले तयारी गरिरहेको बताएका छन् ।
उनले ठमेलमात्र नभई काठमाडौँलाई नै २४ घण्टा सञ्चालन गर्नेगरी अध्ययन र तयारी भइरहेको बताएका हुन् । “काठमाडौँलाई २४ सै घण्टा सञ्चालन गर्नेबारे प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग छलफल भइरहेको छ,”–उनले भने । उनले ठमेललाई पर्यटकीय हव बनाउन सरकार लागेको भन्दै यसलाई साथ दिन सबैलाई आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी पौडेलले नेपालको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय गैरकानूनी गतिविधी बढेको भन्दै चिन्ता व्यक्त गरे । घरधनी र व्यवसायीले इमान्दारपूर्वक ढङ्गले व्यवसाय गरे ठमेलभित्रको विकृति अन्त्य हुने उनको भनाई थियो । उनले महिनाको एकदिन ठमेलका बारेमा जिल्ला प्रशासनमा बैठक बसेर यहाँभित्रका समस्याबारे छलफल गर्नुपर्ने बताए ।
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले ठमेल क्षेत्रलाई व्यवस्थित गर्नका लागि काठमाडौँ महानगरपालिकाले काम गरिरहेको बताए । ठमेलभित्रका सार्वजनिक शौचालय, अव्यवस्थित पार्किङ, डस्बिन, ट्राफिक जाम, मगन्तेलगायतका समस्याको समाधानमा महानगरपालिकाले सम्बन्धीत निकायसँग सहकार्य गरेर काम गरिरहेको उनले बताए । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले ठमेलभित्रको ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी कार्यालयले काम गरिरहेको बताए ।
“ठमेललाई भेहिकल फ्रि जोन बनाउनका लागि स्थानीयबासी तथा व्यवसायीले चाहेको खण्डमा ट्राफिक कार्यालय त्यसमा सहयोग गर्न तयार छ,”– उनले भने । उनले ठमेलभित्र जथाभावी पार्किङ गर्दा ट्राफिक जाम बढेको भन्दै जथाभावी पार्किङ गरे कारबाही गरिने उल्लेख गरे । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले ठमेललाई अपराधमुक्त बनाउनका लागि यहाँभित्रका घरधनी तथा व्यवसायीको साथ र सहयोगको आवश्यक रहेको बताए । उनले सबैले आ आफ्नो ठाउँबाट गर्नुपर्ने जिम्मेवारी पुरा गर्न लाग्नुपर्ने उल्लेख गरे । ठमेललाई शान्त, सुरक्षित र शव्य बनाउनका लागि जिल्ला प्रहरी कार्यालय सँधै तयार रहेको उनको भनाई थियो ।
परिषद्का पूर्वअध्यक्ष भविश्वर शर्माले लामो समयको अध्ययनपछि तयार गरिएको ठमेललाई २४ सै घण्टा सञ्चालन गर्ने आचारसंहितालाई कार्यान्वयन गर्न सबै घरधनी तथा व्यवसायी लाग्नुपर्ने बताए । पूर्वअध्यक्ष शर्माले ठमेललाई नमूना र सुरक्षित पर्यटकीय गन्तव्य बनाउनका लागि जिल्ला प्रशासन कार्यालयबाट लागू भएको आचारसंहितालाई कडाईका साथ लागू गर्नुपर्ने उल्लेख गरे ।

