असोज २९, काठमाडौँ । पश्चिम नेपालका विभिन्न भूभागमा आज र भोलि मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहनेछ। महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा पहाडी भूभाग एक(दुई स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। त्यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। वर्षाको सम्भावनालाई ध्यानमा राख्दै कृषि कार्यमा संलग्न तथा सम्बन्धित निकायलाई पछिल्लो मौसम सूचना र पूर्वानुमानबारे नियमित जानकारी लिन महाशाखाले अनुरोध गरिएको छ। नेपालबाट मनसुन बाहिरिए पनि स्थानीय वायुका कारण हल्का वर्षा भने हुनेछ ।

