सुर्खेत, २९ असोज । कर्णाली प्रदेशको जाजरकोटमा बोलेरो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकाेटका अनुसार सुर्खेतबाट जुनिचाँदे जाँदै गरेको क.प्र.०२००१ च १२४३ नम्बरको बोलेरो उक्त गाउँपालिकाको वडा नं. २, गैरीगुवास्थित भित्री सडक खण्डमा आज बिहान २ बजे दुर्घटनामा परेको हो।
सडकबाट झन्डै ३ सय मिटर तल खसेको उक्त बोलेरो दुर्घटनामा परि जुनिचाँदे गाउँपालिका वडा नं. ९, कल्लीस्याला बस्ने २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे गाउँपालिका वडा नं. ३, स्याला बस्ने दिलबहादुर भण्डारीकी ३० वर्षीया श्रीमती बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा परेर स्यालाका दिलबहादुर भण्डारी, उनका छोरा शिशिर भण्डारी र स्यालाकै सितला टमटा घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि प्रदेश अस्पताल, कालागाउँ पठाइएको छ।
ती तीनै जना घाइतेको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

