‘खगेन्द्रले डीएसपी घिसार्छु भन्दा छुट, मलाई प्रश्न गर्दा मुद्दा; हेमन्तलाई किन छोइएन ?’

असोज १८, काठमाडौं । अडियो प्रकरणमा पक्राउ परेका आशिष मल्ल ठाकुरीका नामले चिनिने धर्मराज मल्ललाई काठमाडौं जिल्ला अदालतले शुक्रबार १० हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ। न्यायाधीश उमानाथ गौतमको इजलासले मल्ललाई उक्त धरौटीमा छाड्ने आदेश दिएको हो।

यसअघि गत मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मल्ललाई २४ घण्टाभित्र उपस्थित गराई लिखित जवाफ पेस गर्न गृह मन्त्रालय, जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला प्रशासन कार्यालय काठमाडौंका नाममा परमादेश जारी गरेको थियो।

मल्लकी पत्नी भावना बुढाले आफ्ना श्रीमानलाई गत असोज ७ गते राति बिना पुर्जी पक्राउ गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। सर्वोच्चले गत असोज १५ गते नै हाजिर जमानी वा तारेखमा छाडिदिनु भनी आदेश दिए पनि प्रहरी र सरकारी वकिलले अभियोजन दर्ता गराएर दोहोरो झन्झट सिर्जना गरेको मल्लको आरोप छ।

मल्लले घुस काण्ड पर्दाफास गर्ने हेमन्त चौधरीलाई छाडेर आफूलाई मात्र दुःख दिने नियतले प्रहरीले दुःख दिएको गुनासो गरेका छन्। ‘मुद्दा लगाउने कुनै आधार नभेटेपछि आफूलाई अभद्र व्यवहारको मुद्दा लगाइएको हो,’ उनले भने।

अभियोगपत्रमा मल्ललाई सार्वजनिक सडकबाट पक्राउ गरिएको उल्लेख भए पनि उनी घरैबाट पक्राउ परेको दाबी गरेका छन्। ‘राति ९ बजेर १२ मिनेटमा खाना खादै गर्दा प्रहरीले उठाएर लगेको हो। पक्राउ पुर्जी खोइ भनेर सोध्दा उल्टै अभद्र व्यवहारको मुद्दा चलाइयो,’ मल्लले बताए। उनले थपे, ‘मैले केही भनेको छैन, पक्राउ पुर्जी मात्र मागेको थिएँ। मसँग पूरा सीसीटीभी फुटेज छ, जहाँ बुझाउनु पर्ने भए पनि तयार छु।’

प्रहरीले हिरासतमा रहँदा अडियो कसरी लिक भयो भनेर दबाब दिएको उनको आरोप छ। आफैं फोन गरेर सबै कुरा खोल्ने हेमन्त चौधरीलाई छाडेर उल्टै आफूलाई दुःख दिएको उनको गुनासो छ ।

सरकारले दुई तिहाइको दम्भ देखाएर बिना कारण अभद्र व्यवहारको मुद्दा चलाएको गुनासो गर्दै मल्लले भने, ‘केही महिनाअघि रास्वपा सांसद खगेन्द्र सुनारले डीएसपीलाई सडकमा घिसार्छु भन्दा केही नगर्ने राज्यले आज मलाई एउटा प्रश्न गर्दैमा किन यस्तो गर्यो? के ठूलाले जे गर्दा पनि हुन्छ?’

कतिपय मिडियाले आफूलाई ‘घुस डिल गर्ने आशिष मल्ल’ भनेर समाचार प्रकाशन गरेकोमा उनले आपत्ति जनाएका छन्। ‘सबै बताउने हेमन्त हो, मैले कसरी डिल गरेँ?’ उनले प्रश्न गरे। उनले हेमन्तको दाबी तत्काल निष्पक्ष छानबिनको माग गरेका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.