असार २२, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले जल्केनी–जितपुर–सिरानचौर–कदमबास हुँदै वडा कार्यालयसम्मको मोटरबाटो स्तरोन्नतिको काम अघि बढाएको छ।
९४ लाख ९९ हजार ९९८ रुपैयाँ लागत अनुमान रहेको योजना ५९ लाख ९३ हजार ४२६ रुपैयाँमा निर्माण सम्झौता गरिएको छ, जुन अनुमानित लागतभन्दा ३६ प्रतिशत कम हो।
योजनाअन्तर्गत नाला, पर्खाल, कालोपत्रे तथा अन्य आवश्यक सडक संरचना निर्माण गरिनेछ। सडक निर्माण सम्पन्न भएपछि वडा कार्यालयसम्म वर्षभरि सहज पहुँच स्थापित हुने, स्थानीयवासीले सरकारी सेवा लिन सुविधा पाउने र कृषि उत्पादनको ढुवानीसमेत सहज हुने नगरपालिकाको अपेक्षा छ।
यस परियोजनाले ग्रामीण पूर्वाधार सुधारसँगै स्थानीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

