कीर्तिपुर होल्डिङ सेन्टरबाट एक सुकुम्वासी पक्राउ

काठमाडौं। काठमाडौँको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका एक जना सुकुम्वासीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले भोजपुरको अरुण गाउँपालिका घर भएका ३९ वर्षीय डम्बरबहादुर तामाङलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवन भट्टराईका अनुसार तामाङलाई सार्वजनिक शान्ति खलल पुर्‍याएको मुद्दामा अनुसन्धान अघि बढाउन म्याद थपका लागि जिल्ला अदालत पेस गरिएको छ। उनलाई अहिले सिंहदरबार प्रहरी कार्यालयमा राखिएको छ।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिकाले होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूलाई निश्चित सुविधासहित अन्यत्र जान अनुरोध गरेको थियो। तर, तामाङले उक्त विषयलाई सामाजिक सञ्जालमा अतिरञ्जित रूपमा प्रस्तुत गरेका थिए। उनले सामाजिक सञ्जालमा खुकुरी प्रदर्शन गर्दै ‘सुकुम्वासी समस्या समाधान नभए खुकुरी हान्छु’ भनी हिंसात्मक धम्की दिएको र सेन्टरमा शान्तिपूर्वक बस्न पाउने अन्य बासिन्दाको अधिकारमा समेत खलल पुर्‍याएको प्रहरीको आरोप छ।

नदी किनारका बस्तीहरू हटाइएका कारण विस्थापित भएका सुकुम्वासीहरूलाई सरकारले कीर्तिपुरस्थित राधास्वामी सत्संगको होल्डिङ सेन्टरसहित विभिन्न स्थानमा राख्दै आएको छ। पछिल्लो समय सरकारले ७ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सूचना जारी गरेपछि त्यहाँ आश्रितहरूले असन्तुष्टि र प्रदर्शन गर्दै आइरहेका छन्। यही तनावका बीच तामाङले दिएको आपत्तिजनक अभिव्यक्तिका कारण प्रहरीले उनलाई शनिबार नै नियन्त्रणमा लिएको हो।

यसैबीच, सुकुम्वासी मोर्चाहरूले भने तामाङको पक्राउप्रति आपत्ति जनाउँदै उनको तत्काल रिहाइको माग गरेका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.