आजदेखि चुनाव अवधिभर मादक पदार्थ सेवन तथा बिक्री गर्न नपाइने

काठमाडौं । सरकारले चुनाव अवधिभरका लागि मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले ‘मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने’ निर्णय गरेको हो । निर्वाचन आउन अब सात दिनमात्र बाँकी छ ।

यही फागुन २१ गते बिहान सात बजेदेखि मतदान सुरु हुनेछ । सुरक्षा वस्तुस्थितिको आँकलन तथा सुरक्षा व्यवस्थासम्बन्धी मार्गदर्शन तथा सिफारिस समेतका आधारमा निर्वाचनलाई स्वच्छ, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक अन्य निर्णय समेत उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट भएर कार्यान्वयनमा आएको निर्वाचन आयोगले जनाएको छ ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णय अनुसार यही फागुन १८ गते राति १२ बजेदेखि नर्वाचन प्रचारप्रसार निषेध हुनेछ । यस अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ ।

साथै जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउने भनिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.